रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

शनिबार, पुस १०, २०७८

रेमिटेन्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

भारत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका नै किन नहुन्, विश्वका सबैजसो मुलुकमा नेपाली नपुगेको भन्ने छैन । खासगरी प्रजातन्त्रको पुनःस्थापनापछि ठूलो संख्यामा नेपाली युवाहरू श्रमिकका रूपमा विदेशिने क्रम तीव्र थियो । मुलुकमा पर्याप्त मात्रामा रोजगारीका अवसरहरू नहुनु, कलकारखाना तथा उद्योगधन्दाको विकास नहुनु, श्रमको सम्मान गर्ने चलनको विकास नहुनु, न्यून पारिश्रमिक, स्रोतविहीनहरूले मुलुकमा केही गर्छु भन्दा स्रोत नजुट्ने तर, विदेश जान्छु भन्दा स्रोत जुट्नेजस्ता कारणले वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गएको हो । वैदेशिक रोजगारीमा रहेका करिब आधा करोड नेपाली श्रमिकले सबै प्रकारका कामहरू गर्ने गरेको पाइन्छ । यो संख्या वैदेशिक रोजगारीका लागि सरकारी निकायबाट श्रमस्वीकृति लिएर गएको दुई दशकयताको तथ्यांक हो । यद्यपि कति संख्या स्वदेश फर्कियो भन्ने तथ्यांक सरकारसँग छैन ।

कोभिडपछिको वैदेशिक रोजगारको अवस्था

कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा ठूलो धक्का लागेको छ । श्रमस्वीकृति लिएर बसेको ठूलो जमात कार्यथलो जान पाएनन् भने विदेशमै क्रियाशील कतिपयको कम्पनी बन्द भएपछि श्रमिक कटौतीमा परेर मुलुक फर्किनुपरेको छ । यस अवधिमा सबैभन्दा धेरै भारतबाट फर्किए । भारतमा सबैभन्दा तल्लो तप्कामा रहेर काम गर्ने नेपालीहरू रोजगारी गुमाएर फर्किनेको ताँती नै लाग्यो । काम नभएपछि आम्दानी नहुँदा ऋण गरेर खानुपर्ने स्थिति सिर्जना भयो । ऋण पनि पाउन छाडेपछि उनीहरू पुनः बालबच्चासहित भारत फर्किन बाध्य भए । पुनः भारत फर्किनेको ताँतीमा नेपालको मध्यपश्चिम र सुदूरपश्चिका नागरिकहरू बढी थिए । भारतमा कोरोनाको डरलाग्दो अवस्था हुँदा पनि रोगभन्दा भोकको भयले मर्ने अवस्था भएपछि उनीहरू पुनः भारत नै हानिए ।

भारतपछि सबैभन्दा बढी नेपाली श्रमिक भएका देश खाडी र मलेसिया हुन् । ती मुलुकबाट पनि कोरोनाका कारण ठूलो संख्या रोजगारी गुमाएर फर्कियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार पछिल्लो डेढ वर्षमा वैदेशिक रोजगारीमा रहेका झन्डै पाँच लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । पछिल्लो समय केही सहज भएर कामको खोजीमा पुनः विदेशिन थालेको भए पनि श्रम गन्तव्य मुलुकमा कोभिडको जोखिम अझै छ । त्यसैले ढुक्क भएर विदेश जाने अवस्था बनिसकेको छैन । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६१ हजार युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् । यो संख्या आर्थिक वर्ष ०७७÷७८ मा पाँच हजार मात्रै थियो । पछिल्ला दुई वर्षको दुई महिनालाई तुलना गर्दा वैदेशिक रोजगारीमा धेरै नै सुधार भएको छ भन्न सकिन्छ । तर, कोभिडको जोखिम कायमै रहेकाले वैदेशिक रोजगारी टिकाउपूर्ण हुने अवस्था छैन भने आगामी दिन कोभिड रोकथाम पद्धतिमा निर्भर रहन्छ ।

विभागका अनुसार कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७६÷७७ को तुलनामा ०७७÷७८ मा शतप्रतिशतले घटेको छ । तीन वर्षअघि (आर्थिक वर्ष ०७५÷७६) को तुलनामा लगभग साढे २ सय प्रतिशतले कम हो । कोभिडका कारण प्रमुख सात श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्यामा शतप्रतिशतभन्दा बढीले कटौती भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा ३ लाख ६८ हजार ४ सय १३ जना वैदेशिक रोजगारीमा गएकामा ०७७÷७८ मा १ लाख ६६ हजार ३ सय ५ मा सीमित भएको छ । जबकि आर्थिक वर्ष ०७५÷७६ मा ५ लाख ७ हजार ८ सय १७ जना रोजगारी खोज्दै विदेशिएका थिए । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपाली संख्या एक वर्षमा दुई लाख ५७ हजारले घटेको छ । आर्थिक वर्ष ०७५÷७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा ०७७÷७८ मा साढे २ सय प्रतिशतले घटेर १ लाख ४१ हजार ९ सय ७७ जनामा सीमित भयो । तीन दशकदेखि बेरोजगारहरूको सहारा बनेको वैदेशिक रोजगारी कोभिडमा थला परेर विस्तारै उठ्न खोजिरहेको छ ।

अनौपचारिक क्षेत्रबाट अधिक विप्रेषण

कोभिडमा ठूलो संख्याले वैदेशिक रोजगारी गुमाएर फर्किए । जसको असर विप्रेषणमा पर्छ भन्ने धेरैको अनुमान थियो । विश्व नै कोरोनाले आक्रान्त हुँदा पनि विदेशबाट नेपाल भित्रिने विप्रेषण भने झनै बढ्यो । कोभिडकालमा विप्रेषण बढेको देखेर वैदेशिक रोजगारी विज्ञ र अर्थशास्त्री पनि चकित भए । एकातिर वैदेशिक रोजगार ठप्पप्रायः छ, अर्कोतिर रोजगारी गुमाएर फर्किनेहरूको ताँती छ र पनि विप्रेषण १८ प्रतिशतसम्मले बढेको छ । सन् २०१७, २०१८ र २०१९ मा लगभग ९ खर्ब रुपैयाँ भित्रिएको विप्रेषण सन् २०२० को कोरोना कहरमा झन् बढेर १० खर्ब रुपैयाँ माथि पुग्यो । योभन्दा आश्चार्य के हुन्छ ? यस विषयमा के भएको भनेर हामीले पुनः अध्ययन सुरु ग¥यौं । अध्ययनबाट के देखियो भने कोभिड आउनु अगाडिका वर्षहरूमा नेपालमा विप्रेषण औपचारिकभन्दा पनि अनौपचारिक क्षेत्र (हुन्डी) बाट बढी आउँदो रहेछ । यससम्बन्धी स्पष्टता २०७८ साउनको विप्रेषणले दिएको छ । कोभिड संक्रमण नियन्त्रण गर्न सबै क्षेत्र ठप्प हुने गरी बन्दाबन्दी वा निषेधाज्ञा लगाउँदा विप्रेषण बढ्ने तर, कोभिड घट्यो भनेर सबै क्षेत्र खुकुलो बनाउन खोजेका बेला विप्रेषण घट्ने स्थिति किन भयो ? स्थिति सहज भएर बन्दाबन्दी वा निषेधाज्ञा खुल्नेबित्तिकै हुन्डीवालाहरूले काम सुरु गर्न थालिहाले । नेपालमा झन्डै आधा विप्रेषण हुन्डीको माध्यमबाट भित्रिँदो रहेछ ।

राष्ट्र बैँकका अनुसार गत साउनमा विप्रेषण १८.१ प्रतिशत खुम्चिएर ७५ अर्ब ९६ करोडमा सीमित भएको छ । जबकि अघिल्लो वर्ष (२०७७) साउन २३ प्रतिशत बढेर ९२ अर्ब ७१ करोड विप्रेषण भित्रिएको थियो । गत आर्थिक वर्षभरि समग्रमा १८ प्रतिशतले विप्रेषण बढे पनि आर्थिक वर्षको अन्तिम महिनातिर विप्रेषण घट्न थालेको थियो । दसैँअघि ठूलो दरमा विप्रेषण घटेपछि अर्थतन्त्रमा समस्या पर्न सक्ने विश्लेषण भइरहेको छ । विप्रेषण आप्रवाह घट्दाको असर समग्र अर्थतन्त्रमा पर्छ । बन्दाबन्दीमा हुन्डीसहित अवैध कारोबार घट्दाको सकारात्मक प्रभाव औपचारिक माध्यमबाट आउने विप्रेषणमा परेको थियो । यस्तै, विदेशमा विभिन्न उद्योग–व्यवसायमा लगानी गरिरहेका नेपालीले ‘होल्ड’ गर्ने विप्रेषण पनि नेपाल आएको थियो । खोप लगाएर मुुलुकमा विस्तारै आर्थिक गतिवधि बढ्न थालेपछि विप्रेषण आप्रवाह पुरानै लयमा फर्किने संकेत गरेको छ ।

विप्रेषणबाट प्राप्त उपलब्धि

वैदेशिक रोजगारीले सामाजिक र आर्थिक जीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । देशको ठूलो जनसंख्या विप्रेषणमा निर्भर रहेको अध्ययनहरूले देखाएको छ । विप्रषणले आर्थिक मात्र नभएर सामाजिक र शैक्षिक क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ । सरकारले पछिल्लोपटक गरेको घर परिवार सर्वेक्षणअनुसार ५२ लाख घर परिवारमध्ये ६० प्रतिशत घरपरिवार विप्रेषणले चलेका छन् । यसको अर्थ करिब ३१ लाख घर परिवारले प्रतिपरिवार औसत ८० हजार ४ सय रुपैयाँका दरले विप्रेषण प्राप्त गर्छन् । विप्रेषण योगदानकै कारण केही वर्ष अघिसम्म गरिबीको रेखामुनिको जनसंख्या ३१ प्रतिशत रहेकामा आर्थिक सर्वेक्षण ०७५÷७६ अनुसार मुलुकको गरिबी १८ दशमलव ७ प्रतिशतमा झरेको छ । विप्रेषणका कारण मुलुकमा साक्षरतादरमा वृद्धि मात्र भएको छैन शिक्षाको गुणस्तरमा पनि सुधार हुँदै गएको छ । त्यस्तै, आर्थिक अवस्थामा सुधार भएसँगै स्वास्थ्य सुविधाहरूको मागमा व्यापकता र गुणस्तरमा समेत सुधार हुँदै गएको छ । यसले आमनागरिकको जीवनशैलीमा पनि सुधार ल्याइरहेको छ ।

विप्रेषण अनुत्पादक क्षेत्रमा लगानी भयो भन्नुु गलत

धेरै अर्थशास्त्रीहरूले नेपालमा विप्रेषण अनुत्पादक क्षेत्रमा लगानी भएकाले उत्पादनमूलक क्षेत्रमा जानुुपर्ने भनि कोठे योजनाहरू फलाक्छन् । सरकारले पनि उनीहरूकै कुरा पत्याएर वैदेशिक रोजगारीमा गएकालाई लक्षित गरी वैदेशिक ऋणपत्र जारी गर्ने र रेमिट हाइड्रोमा लगानी गर्ने भन्दै आएको छ । तर, सरकारी योजनामा वैदेशिक रोजगारीमा जानेहरूको कुनै आकर्षण छैन । होस् पनि कसरी ? कामको खोजीमा विदेश जाने एउटा सामान्य श्रमिकको उद्देश्य भनेकै घर–परिवारलाई राम्रोसँग खानलाउन दिने, छोराछोरीलाई राम्रो शिक्षा दिने हुुन्छ ।

खाडी मुलुुकमा कमाएको पैसाले स्वदेशमा उद्योग कलकारखाना खोल्ने, रोजगारी सिर्जना गर्ने, देशको व्यापार घाटा घटाउनेसँग कुनै सम्बन्ध हुँदैन र त्यस्तो उद्देश्य बोेकेर विदेशिएको पनि होइन । उनीहरूको योजना आफूू जाँदा लागेको ऋण तिर्ने, घर परिवार, बाबुआमा, छोराछोरीलाई राम्रोसँग खानलाउन दिने, छोराछोरी राम्रो विद्यालयमा पढाउने, सके सहरमा घर बनाएर सुखसँग परिवारलाई राख्ने हुन्छ । अदक्ष र अर्धदक्ष श्रमिकहरूबाट योभन्दा धेरै अपेक्षा अरू के गर्न सकिन्छ र ! अधिंकाशले गरेको पनि त्यही हो । विप्रेषणले प्रत्यक्ष रूपमा उत्पादनमूूलक क्षेत्रमा सहयोग नगरे पनि अप्रत्यक्ष रूपमा सहयोग गरिरहेकै हुन्छ र आर्थिक विस्तारमा उपयोग भइरहेको पाइन्छ । विप्रेषणका कारण नेपालले लिएका दिगो विकास लक्ष्य प्राप्त गर्न ठूलो सहयोग पुगेको छ । शिक्षा, स्वास्थ्य र भोकमरीलगायत क्षेत्रमा धेरै राम्रो प्रगति हुनुु विप्रेषणकै देन हो । त्यसका कारण विप्रेषण सही ठाउँमै उपयोग भएको छ भन्ने लाग्छ ।

दीर्घकालीन प्रभाव

गत आर्थिक वर्ष ०७७÷७८ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आयो । नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या ७१ हजार ८१ मात्र छ । यो आर्थिक वर्ष ०७६÷७७ को १ लाख ९० हजार ४ सय ५३ जनाको तुलनामा करिब एकतिहाइ मात्र हो । गत वर्ष श्रम इजाजत नवीकरण गरेर जानेको संख्या जोड्दा वर्षभरिमा एक लाख ६६ हजार ६ सय ९८ जना श्रमिक विदेशिएका थिए । महामारीले श्रम गन्तव्य मुलुकहरू पनि आक्रान्त भएकाले श्रमिकको माग घट्न पुुग्यो । रोजगारीको खोजीमा रहेका करिब १३ लाख युुवा विदेश जाने इच्छुक भए पनि कोरोनाका कारण स्वदेशमै रल्लिएका छन् । तीन वर्षअघिसम्म सबैभन्दा बढी श्रमिक जाने मलेसियामा गत वर्ष १ सय ७ जनाले मात्र अवसर पाए । कुवेतमा वर्षभरिमा दुई नेपाली श्रमिक गए । यसले वैदेशिक रोजगारीमा कोभिडले कस्तो प्रभाव पारेको छ भन्ने देखाउँछ । अहिले पनि विदेशबाट भएको मागअनुसार श्रमिक पठाउन महामारी नियन्त्रणका लागि बनेको स्वास्थ्य प्रोटोकल, खोप नीति र हवाई भाडा बाधक बनिरहेको छ ।

प्रमुख गन्तव्य मुलुक

नेपालले १ सय १० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुला गरेकामा व्यक्तिगत श्रम स्वीकृतिमा १ सय ७२ मुलुकमा नेपालीहरू कामका लागि गएको पाइन्छ । यद्यपि नेपाली श्रमिकको मुख्य गन्तव्यका रूपमा भने मलेसिया, कतार, साउदी अरेबिया र यूएई छन् । वैदेशिक रोजगारमा जाने नेपालीको पछिल्लो आँकडा हेर्दा मलेसियासहित खाडी मुलुकहरूले ८६ दशमलव ४२ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । यद्यपि पछिल्लो समय गन्तव्यहरूमा विविधता आएर विकसित मुलुकबाट पनि विप्रेषण आउन थालेको छ । खाडी मुलुकहरू र मलेसियाबाहेक जापान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरियाजस्ता मुलुकहरू पनि विप्रेषणको महत्वपूर्ण स्रोतका रूपमा अघि आइरहेका छन् ।

सुधारोन्मुख वैदेशिक रोजगारीको क्षेत्र

कोभिडले थलिएको वैदेशिक रोजगारीको क्षेत्र सुधारोन्मुख देखिन थालेको छ । विदेशमा नेपाली श्रमिकको माग आउने क्रम बढेसँगै विदेश जानेको संख्या पनि बढेको छ । साउन र भदौमा मात्रै ५० हजार ६ सय ४६ वटा माग आएकामा सबैभन्दा धेरै साउदी अरब, कतार र मलेसियाबाट कामदार माग भएको छ । कोभिडको जोखिम घटेको खण्डमा वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको राम्रो संकेत देखिएको छ । मुलुुकले धेरै अदक्ष र अर्धदक्ष जनशक्तिभन्दा थोरै सक्षम÷दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाएर धेरै विप्रेषण भित्र्याउने नीति लिनुपर्छ ।

आगामी दिनमा वैदेशिक रोजगारीको सम्भावना

कोभिडले उठ्नै नसक्ने गरी थलिएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको दुुई महिनाको तथ्यांकले विस्तारै सुधार भएको संकेत गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार दुई महिनामा ६१ हजार ४ सय ६८ जना बिदेसिएका छन् । विदेशबाट श्रमिक माग आउन थालेको र १९ महिनादेखि ईपीएसमार्फत दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरेर बसेका १० हजार बढी युवालाई कोरिया जाने बाटो खुल्न थालेको छ । इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ‘केयरगिभर’मा एक हजार श्रमिक पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने नीति लिए पनि स्वदेशमा रोजगारीका अवसर नपाएपछि अधिकांश युवा विदेश जान बाध्य छन् ।

नेपालको वैदेशिक रोजगारीलाई रणनीतिक तवरले लिनुुपर्छ । सरकारले तथ्य र तथ्यांकको खोजी गरेर नयाँ रणनीति बनाउनुपर्छ । अहिले पनि बेरोजगार नेपाली युवाका लागि कतार धेरै राम्रो गन्तव्य मुलुुक हो । किनभने कतारमा सन् २०२२ मा विश्वकप प्रतियोगिता हुँदै छ । त्यसका लागि म्युजियमदेखि होटेल बनाउने कामको ठेक्का अमेरिकन र कोरियन ठूला कम्पनी लिएका छन् । कोभिडले डेढ वर्ष काम रोकिएको छ । त्यो कामलाई अब दोब्बर गतिमा अगाडि बढाउनुछ । निर्माणदेखि सेवासम्मका लागि ठूलो जनशक्ति चाहिन्छ र यस्तो जनशक्ति नेपालले पूर्ति गर्न सक्छ । त्यसका लागि सरकारले पहलकदमी भने लिनुपर्छ । नेपालले आफ्ना जनशक्तिबारे कतारलाई आश्वस्त पारेर वातावरण निर्माण भएमा अबको ५÷६ महिनामा २० लाख श्रमिक कतारमा पठाउन सकिन्छ । कतारसँगै साउदी अरब, मलेसिया, यूएई, कुवेत, युरोपेली मुलुकमा पनि नेपालीका लागि धेरै राम्रा अवसर छन् ।

तर, त्यसका लागि सरकारी संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । नेपाली दूतावासको काम राहदानी बनाउनेमा मात्रै सीमित नगरी स्वदेशमा अवसर नहुँदासम्म विदेशमा नेपालीका लागि राम्रा कम्पनीमा अवसर खोज्ने काम गर्नुपर्छ । विगतमा विश्व श्रम बजारले नेपाली श्रमिक आफैं खोज्ने गरेको थियो । तर, अहिले परिस्थिति बदलिएको छ । नेपाल आफैंले कुन देशका कुन कम्पनीमा कस्तो अवसर छ र बढीभन्दा बढी नेपाली कामदार कसरी पठाउने भनेर नेपाल स्वयंले पहलकदमी लिनुुपर्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::