लोग्नेको माया

शुक्रबार, साउन २४, २०७६

लोग्नेको माया

- रामलाल जोशी

ऐना हेर्दा फुङ्ग उडेको कलसरो अनुहारमा झुस्स परेका दारी फुलेर सेताम्य थिए । खङरङ्ग पात झरेर शिशिरमा फुलेका सागिनाका फूलजस्ता दारीहरुले अनुहारलाई कति कुरुप बनाएका, छि ! खोपिल्टा परेर धसिएका आँखा । चरासँगै कतै टाढा उड्न लागेजस्ता आँखाका दृष्टि । पुषको महिनामा भीरमा सुकेर लत्रिएको गाजोजस्ता आँखीभौँ । ढुंगे ओडारको तल्तिर असारको महिनामा पलाएको बाबियोजस्ता कान र नाकका पोराभित्रका रौँहरु । गोरुले दाइँ हालेजस्तो टाउकाको कपाल । तन्किएर बकुल्लाको जस्तै हुन थालेको लामो र मसिनो घाँटी । छाला तन्किएर नाकजस्तै तीखो हुन थालेको रुद्रघण्टी । कलेटी परेका ओठ । चाउरीका धर्सैधर्साले भरिएको निधार । निराशै निराशाले भरिएको एउटा जिन्दगी । उफ ! पुषमाघको रुखजस्तै लाग्ने त्यो जीर्ण र कृशकाय शरीर अरु कसैको थिएन, मेरै आँखा अगाडि उभिएको मेरै शरीर थियो त्यो । टिठलाग्दा देखिने ती सबै अङ्गहरु मेरै थिए । ऐनामा हेर्दा यसवर्ष मैले आफूलाई यस्तै कायामा ठिङ्ग उभिएको देखेँ, कठै ।

डाक्टरले भात नखानु भनेको थियो । आलु र गेडागुडी खान मनाही गरेको थियो । माछामासु मद्यपान र धुम्रपान वर्जित गरेको थियो । चिल्लो, पिरो र अमिलो चिजमा रोक लगाएको थियो । चिया, कफी र मिठाइहरुमा मन्दी गर्नु भनेको थियो ।के खाएर बाँकी जिन्दगी बाँच्नु र खै ?

के खाएर यो जिन्दगी धान्नु र खै ? दुध , दही ध्यु र मह खाएर पुष्ट बनाएको शरीर तीता औषधीका डब्बा र गोलीले खङरङ्ग बनाइ दिएको थियो ,कठै । साठी पुग्न तीनवर्ष बाँकी त अझै थिए नि । यै उमेरमा जिन्दगी शिशिरको पातजस्तो कसरी भयो हँ ? गएका वर्षहरुमा अनन्तजस्तै लाग्ने जिन्दगी यति चाँडै के भइदियो यस्तो हँ भगवान ? मध्यान्हको रापिलो सूर्यलेझैँ ढोकामाथि झुण्डयाइएको मेरै बैशालु फोटोले मलाई गिज्याइ रहेथ्यो ।

ऐना हेरिरहेकै बेला मेरा अगाडि ठिङ्ग उभिएको अशोक मेरो उपहास गर्न आएझैं लाग्यो । केही भन्न आएझैं अनुहार बनाएको अशोकले भनेको मैले सुने– “बाजे आन्टी पूजा गर्न र तीजको कार्यक्रममा नाच्न गौरा मन्दिर गइस्या छ । आन्टीले भनिस्सेको रमण अंकलकोमा आन्टीको ब्रा र पेन्टी छुटेको छ रे, त्यो लिएर आउनु रे । यै भन्नलाई आन्टीले पठाइस्सेको मलाई ।” उफ, तेरिमा डाँका रैबारे । मलाई बाजे भन्ने मेरै छिमेकी अशोकले मेरी स्वास्नीलाई आन्टी भन्ने गरेकोमा मलाई कुनै डाह त थिएन परन्तु अहिले जुन कुरा एक सासमा उसले भनेर गयो त्यसले मेरो मुटुमा एउटा गोली लाएरै गयो । दिउँसै तारा देखिन थाले दिमागमा । कस्तो निर्लज्ज कुरा गरेर गयो ऊ । किन छुटे मेरी स्वास्नीका पेन्टी र ब्रा रमणकोमा ? कसरी छुटे मेरी स्वास्नीका गोप्याङ्ग वस्त्रहरु रमणकोमा ? उफ्, कस्तो चुनौतीपूर्ण व्यंग्यको सामना गर्नुप¥यो मैले । के मेरी स्वास्नी त्यति तल गिरिसकेकी हो त ? कसरी यो कुरा बिर्सेर अरु सोच्न सक्थे र म ? मैले पढेका शास्त्रहरु झुठा मानेर मैले चुपचाप प्रेम र विश्वास गर्नु कतै भुल त थिएन ? बारम्बार गुरु देवचन्द्र महाराजले घोकाएकै थिए, ‘स्त्रीया चरित्रम...।’ त्यो पाठलाई झुठ मानेर मैले एक चञ्चल युवतीलाई अतिसय प्रेम र विश्वास गरेको थिएँ । तर आज यत्रो धोका ? अशोकका शब्दहरु कानमा गुञ्जिन थाले ‘आन्टीको ब्रा र पेन्टी रमण अंकलकोमा...।’ मेरो मानसपटलमा एउटा दृश्य बनाउन विवश थिएँ म । मेरा आँखाअगाडि त्यो दृश्य नाच्न थाल्यो– हिजो सोह्र श्रृंगार गरेर घरबाट गई ऊ, मनमा ठूलो तृष्णा बोकेर । ऐनामा ऊ विष्फोटक देखिएकी थिई । उस्तै स्फूर्तिका साथ पुगी ऊ, रमणकोमा । घरमा एक्लै भएको रमणले ढोकाभित्रबाटै कमनीय मुस्कानका साथ स्वागत ग¥यो सीतालाई । ऊ लज्जावती झारझैं सिकुडिदै गई लाजले । लाजले लाल गाला बनाएरै भित्र पसी ऊ । उसको मायालु आगमन लाई कसिलो अंगालोले स्वागत ग¥यो रमणले । र, न्यानो चुम्बनले पनि । कामुकताको एउटा लहर तरङ्गित भैरहयो मनमा । उत्तेजनाका ज्वारभाटाहरु यसरी उम्लेर आए दुबैमा कि बेहीसीले विष लागेका माछाझैँ लट्ठिए दुबै । विस्तरामा बसेकी सीताले टाउको राखीदिई रमणका काँधमा । धेरै बेरसम्म रेशमी कपाल खेलाई रहयो रमणले । उत्तेजाको एउटा चरणमा पुगेपछि रमणमै समर्पित भइदिई सीता । निर्वस्त्र पार्यो उसले सितालाई यसरी कि उसको शरीरमा धाकोको कुनै धर्कोसमेत रहेन बाँकी । उफ , आँखालाई अन्धो बनाई दिऊँ भनेपनि मेरो मानसपटलबाट यो उत्तेजक दृश्य मेटिन तयार थिएन । उसको निर्वस्त्र शरीरसंग खेलिरहयो ऊ । हरेक अङ्गमा चुमेर उत्तेजनाको पराकाष्टामा पुयाइ दियो उसले सीतालाई । कसरी लमतन्न आफ्नो उत्तेजक शरीर छोडिदिई उसले रमणको अंगालोमा ।कस्तो उच्छवास मुखबाट छोडिरही, उफ ! सीताको शरीरलाई त्यस्तो कहिल्यै देखेको थिइन मैले । ऋतुदानका अवस्थामा उसको शरीरभन्दा मायालु मन प्यारो थियो मेरा लागि । यसरी कहिले नङ्गयाएको थिएँ र मैले उसलाई ? नङ्गयाउन सकिन कहिल्यै आफ्नै आँखा अगाडि आफ्नी स्वास्नीलाई । त्यसरी नङ्गयाएर के नै पाउन सक्थेँ र म ? जो पाउनु थियो उसलाई पाएकै थिएँ । एक अर्कामा उनीहरु हराइ रहेकै बेला कसैले आवाज दियो ढोकामा– ढकढक ढकढक । हरे भगवान ! कति दुर्भाग्यको समय त्यो उफ । कसरी उम्किने त्यो संकटबाट । एकअर्कोमा हराएर होस गुमाएकाहरु यसरी बौरिए कि निमेषभरमा आ– आफ्ना निर्वस्त्र शरीरलाई ढाकछोप गर्न हतारिए उनीहरु । अर्ध बेहोसीमा कति लुगा लगाए कति छुटे होश भएन सायद तिनीहरुलाई । कामुकता चढेर निली भएकी सीता निमेषभरमै काली भएर निस्की ढोकाबाट । बहिर निस्केर आधा बाटोसम्म पुग्दा उसको पूरा सातो आएको थिएन आफैसंग । तर जबजब ऊ अगाडि बढदै आई बिर्सिदै गई अघिको आकस्मिकता उसले । बरु युद्ध जितेको सन्तुस्ट मीराबाईजस्तै भएर साँझमा घर आएकी देखेँ मैले उसलाई । उफ दिमागमा कोइला रगडेर यो चित्र मेट्न मन लाग्यो । विस्मृतिको अतल गहिराइमा धकेलेर यो दृश्य भुलिदिन मन लाग्यो । तर मनमा बनाएको चित्र हातले बनाएको जस्तो मेट्न सजिलो कहाँ थियो र ? अनायास आइलागेको संकटका बेला लगाउन छुटेका पेन्टी र ब्रा रमणले पोलिथिनमा राखिदिएको हुँदो हो सायद । त्यै ल्याउन मलाई अह्राएकी थिई उसले । उफ ! सम्झेर आफ्नै दिमागमा भाला रोप्ने रिस लागेर आयो । गिदी उम्लेर आयो । किंकर्तव्यम् विमुढ भएँ म । के गरौँ, कसो गरौ ? आत्महत्या गरौँ अथवा घर छोडेर जाऊँ ? कि उसकै हत्या गरिदिऊँ, सहन गर्नसक्ने शक्ति कहाँ थियो र मसँग ? पुरुष लिबिडो न थियो मसँग । पुरुष मन थियो । पुरुष इन्द्रियहरु थिए मसँग । पुरुष आवेश थियो । पागल भएर मन बहुलाउन थालेको थियो । शरीरका नशाहरुमा रगत उम्लेर आईरहेथ्यो । मुटुको धड्कन काबु बाहिर हुन थालेको थियो । उजाड मुटुमा आगो सल्किएको थियो । लाग्यो, सीताका तारहरु झिकेर शरीरबाट नचल्ने बनाइ दिऊँ जिन्दगी । ममा बसाहाको एउटा रिसाहा रुप सवार भइसकेको थियो ।

सरासर भित्र पसेँ । शोकेशमा सजिएका तस्विरहरु भित्तामा पछारेर फुटाउन थालँे । लोग्नेस्वास्नीको युगल तस्बिरमा सयौँचोटि थुकेर च्यातचुत पारेँ । शोकेशमा भएका उसका श्रङ्गारका सामानहरु रछ्यानमा लगेर मिल्काइ दिएँ । एलबमका तस्विरहरु धुजाधुजा बनाउँदा पनि मन शान्त भएन । दराजमा भएका उसका सारी र कपडाहरु आँगनमा लगेर आगो लगाइ दिएँ । कसै गर्दा पनि मनको डढेलो शान्त भएन । सुस्केराहरु छुटिरहे – “कस्ती बेस्से आइमाईको पोइ हुन पुगेछु, हे भगवान ।” आँखाबाट तरतरी आँसु आइरहे । रिसले दाँत किटकिटिइरहे । ओठमुख सुकेर आए तिर्खाले । पानी खाऊँ कि विष खाऊँ लागिरहयो मनमा । मुखबाट हजार शब्द गालीका निस्किरहे – “आफ्ना पोइहरुसंग नाच्दै होली बेश्या राँड । मलाई धोका दिई जिन्दगीमा छयल्ला राँडले । आँखिर मलाई प्रेम नै कहिले गरेकी थिइ र त्यसले ? उसबेला पनि जवानीको मातमा लट्टिएर मसँग लहसिएकी न हो । डिम्ब सेचनका लागि पग्रिएकी कुनै पनि स्त्रीलाई ऋतुदान दिनु संसारका हरेक पुरुषहरुको धर्म र कर्तव्य हो भन्ने सम्झेर नै मैले उसलाई ऋतुदान दिएको न थिएँ । त्यही ऋतुदानका कारण उसका बाआमाले उसलाई मेरो जिम्मा लाइदिएका न हुन् । खाली प्रेमको नाटक गरी मेरो तपसाधनाबाट मलाई च्युत गराएर आज भड्खालोमा हाली राँडले ।” भावविहल भएर आँसु बगिरहे आँखाबाट । मेरा मानसपटलमा फनफनी घुम्न थाल्यो उसबेलाको चित्र–

उसबेला म गुरुकुल शिक्षालयको प्रिय शिक्षक थिएँ । संस्कृतका श्लोकहरु लय हालेर गाउँदा कक्षाकोठाका रहेक विद्यार्थीहरु आनन्दको गहिराइमा डुबेर मनोमुग्ध हुन्थे । त्रिचालिस वर्षको उमेरमा पनि एउटा अर्कै जाज्वल्यमान आभा थियो मेरो चेहरामा । बलिष्ठ पाखुरीहरु थिए । ब्रह्मचर्यको तमतमाउँदो आभा र सामथ्र्यले एउटा शक्तिपुरुषको अभिमान थियो मसङ्ग । ललाटमा लर्किएको लामो टीकाले एउटा धार्मिक आस्था र विश्वासमा बाँधिएकाहरुलाई नतमस्तक पाथ्र्यो मप्रति ।म त्यही सम्मान र मर्यादाको आसनमा बसेर अरुहरुबाट आफू अग्लिदै गएको आभााषमा थिएँ । कति अभिभावकहरुले प्रेम र श्रद्धापूर्वक आफ्ना छोराछोरीहरुलाई मेरा चरणमा चढाई दिएका थिए “गुरुब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर ..........। ” भनेर । आफ्ना सन्तानहरुको उज्वल भविष्य गुरुकृपामाथि निर्भर ठानेका थिए कतिले ।

गुरुकुल शिक्षालयको दक्षिणी गेटमा फुलको दोकान थियो । सामुन्यमा थियो गीतामन्दिर । शोभावती शर्मा संरक्षिका थिइन पुष्प पसलकी । आफ्ना दुई छोरा र दुई छोरीहरुलाई मेरा आश्रममा पठाउने गरेकी थिइन साँझविहान लेखपढका लागि । एघार वर्षकी बालिका सितालाई सात वर्षसम पढाएँ मैले । उसका भाइबैनीहरु संगै उसलाई अक्षर चिनाएँ । नाम लेख्न सिकाएँ । किताब पढने बनाएँ । संस्कृतका श्लोकहरु सुन्ने रुचि जगाएँ र रस बसाइ दिएँ । सीता मायालु बाला थिई । बाह्यान्तर सुन्दरता र चपलता उस्तै थियो उसमा । पसलमा पूmल बेच्ने काममा बाआमालाई सघाइसकेपछि उस्तै मायालु बनेर आश्रममा पुग्थी । कहिले स्याउ, कहिले हरियो नारिवल र कहिले केही बोकेर आउँथी । अर्कै प्रकारको आत्मीयता दर्शाउँथी ऊ । अर्कै प्रकारको चञ्चलता थियो उसमा । जवानीका लज्जावत सङ्केतहरु स्पष्ट देखिन थालेपछि पनि गम्भीर बन्न सकिन । उस्तै बाल चञ्चला भैरही ऊ । अर्कै विछट्टै लाग्ने सौन्दर्य भरियो उसमा । बैशालु मादकताले विष हाल्छ आँखामा भन्थे । हो, आँखा लट्ठयाएरै छोडन थाल्यो उसको नवीन सौन्दर्यले । म उसप्रति नजानिदो किसिमले आकर्षित भएको थिएँ । मन पागल प्रेमीजस्तै हुन थालेको थियो । एक सुकोमल चञ्चला बालालाई आपूmप्रति आकर्षित गरेर लट्ठयाउनु आवश्यक थियो मेरा लागि । कृष्णका प्रीति लीलाहरुको बयान र संस्कृतका मनोहारी मन्त्रहरुको सुमधुर झंकारमा ऊ कतिबेला परिलिप्त भएर आइ होशै भएन । होश आउँदा ऊ मेरो बाहुपाशबाट छुट्टिन खोज्दै थिई । मैले आफ्नो लामो तप साधना र ब्रहमचर्य भङ्ग गरेर उसलाई ऋतुदान दिएको थिएँ । आँखिर विश्वामित्रले पनि कहाँ इन्कार गर्न सकेका थिए र सृष्टिको यो चरम भोगलाई ? एकछिन नदीले आफ्नो गति रोकेजस्तै ऊ सन्तुष्ट भएकी थिई । यस्तै चञ्चले स्वभावको बीचमा जब उसका ऋतु कर्महरु रोकिए उसका बाआमाले मेरा हातमाथि उसको हात राखेर भने–“अब तपाई नै हाम्रो ज्वाइ हुनुभयो गुरुवर, छोरीलाई पाले पूण्य मारे पाप ।” यति भनेर मलाई सीताको आँचल थमाई दिए । यसरी चित्रालीस वर्षको उमेरमा म बैवाहिक जीवनमा प्रबेश गरेको थिएँ । ती दिनहरु लाग्छन् हिजै जस्ता । त्यसपछि म पूर्णरुपमा संसारिक जीवनमा फर्केको थिएँ । सीताको साथमा पूर्ण आनन्दका दिनहरु बितिरहे । एउटी मायालु स्त्रीको प्यार, मीठामीठा भोजनका परिकार, लुगाकपडाको सरसफाई, खानपान शरीरको स्याहार संभार र उसको पतिपरायणताले प्रफुल्लित भैरहें म । दिनहरु बितिरहे । हाम्रो घर भयो । घरबारी भयो । फूलजस्ता चारवटा सन्तानहरु हाम्रो आँगनमा खिलखिलाएर खेलिरहँदा हाम्रो जीवनको फूलबारी हराभरा भएझैँ लाग्थ्यो । हाम्रो एउटा छुट्टै संसार बनेको थियो ।

ऊ पच्चीसकी हुँदा म पचासको थिएँ । आँगनमा बसेर उसलाई जीवनका केही कुरा भनिरहेथें, पर टाउका माथिको आकाशबाट फिरफिर गर्दै एउटा भंगेरा काइते काइते भएर सीताको काखैमा घुप्लुक्क भयो । कठै बिचरा ! एउटा पखेटामा मटयाङग्रो लाइदिएछ कसैले । उडाइ दिन खोज्दा पनि उडन सकेन । एउटै पखेटाले फिरफिर गर्दै बत्तिएर पर्खालमा गई खुट्टा टेक्यो । सीताले भनी, “दुईटै पखेटा सबल नहुँदा एउटैले कसरी उडोस विचरा ।” आँखिर जिन्दगी पनि त्यस्तै त हो नि । उसको जिन्दगी फक्रिदो कोपिलाजस्तै थियो मेरो जिन्दगी ओइलिदो फूलजस्तै । मेरो दिमागमा गम्भीरताका चिन्हहरु देखिदै थिए । उसको दिमागबाट चञ्चले स्वभाव हटेको थिएन । मेरो शरीरमा शिथिलताका लक्षणहरु देखिदै गए तर उसको शरीरमा बैंशको उद्याम मादकता भरिदै थियो । म आफ्ना सपनाहरुमा व्युझन थालेको थिएँ तर ऊ आफ्ना सपनाहरुमा निदाउन थालेकी थिई । कैलेकाही फूल टिप्न जाँदा उसको सुन्दरता र यौवनको सुगन्धले भमरहरु पूmल छोडेर उसमाथि भुनभुनाइ रहेको म देख्थेँ । मेरा दिनहरु मलिन भएर पश्चिममा अस्ताउँदै थिए तर उसका दिनहरु उज्याला भएर पूर्वबाट उदाउँदै थिए ।

ऊ चाहन्थी उस्तै कमनीय स्फुर्तिकासाथ म उसलाई अङ्कमाल गरुँ । उस्तै बलिष्ठ बाहुमा बाँधेर उसलाई परितृप्त गरुँ । उसका ओठबाट फुस्किन खोज्ने प्यासी मुस्कानलाई कतै पोखिन नदिऊँ । उसका निला आखाँको भाषा सधैँ बुझिरहूँ । खहरे खोलाजस्तो उसको चञ्चलतालाई कतै छचल्किन नदिऊँ । हाँस्ने, खेल्ने, घुम्ने, रमाउने र आनन्द गर्ने नैसर्गिक मनोच्छाहरुको एउटा पखेटा म बनूँ अर्को ऊ बनोस् । परन्तु मलाई लाग्थ्यो – चारओटा सन्तानकी आमा भैसकेपछि अब परिपक्व भई ऊ । गम्भीर भई र शिथिल पनि । र सन्तानहरुका फक्रिदा दिनहरुसंगै ऊ प्रौढावस्थाका पदचिन्हमा गई । किन्तु मेरो सोचाइको घेरामा कैद भएर कसैको जिन्दगी कहाँ बस्न सक्थो र ? यौवन त भर्भराउँदो आगो न हो । आँखिर निमेषभरमै कहाँ निभ्न सक्छ र ? करबलले निभाउनै खोजे पनि धुँवा बनेर आँखालाई डस्न त आइहाल्छ नि । बस् यौवन भन्ने जिन्दगीको एउटा चरण त्यस्तै त हो नि । बल्न दिए बल्छ घिउतेल थपिदिए झन उज्यालिएर बल्छ ।

सीता धुँवा बनेर आँखामा पस्न आउँथी कुनैबेला । आँखा मिचेर कति चोटि आँसु खसालेको थिएँ भन्नु थिएन कसैलाईं । शयनकक्षका कुरा त झन् कति पीडादायी हुँदै थिए मेरा लागि । प्रार्थना गर्थें, “हे भगवान यो वैंशको पूmल चाँडै ओइलेर बूढो होओस् ।” बढ्दो उमेरसँगै ममा देखा परेको शरीरिक शिथिलता र आफ्नै हिनताका कुरा कसरी प्रकट गरुँ कठै ! रतिविलासका लागि जब ऊ वर्षाको बाढीजस्तै धमिलिएर भैरवीको रुप धारण गर्थी, उसका पसिनाहरुले निथ्रुक्क भएर म भिजेको चराजस्तै फखेटा फटफटाएर भाग्न खोज्थेँ । लाग्थ्यो, म भन्दा बलवान् बनेर उसले अँगालोमा च्याप्न खोज्नु उसको चरित्रहीनता हो र निर्लज्जता पनि । मनमनै उसलाई धिक्कार्थें, ‘आइमाईले पनि यस्तो गर्न सुहाउँछ ? छि ः कस्ती अघोरी आइमाई डिम्बिका ।’ तर हरेक रात मप्रति उसको घृणा कति चुलिदै जान्थ्यो होला ? असन्तुष्ट आत्माको कति सराप थियो होला मलाई ? मेरो अनुमानको विषय थिएर त्यो । म चाहन्थेँ नदीजस्तै आफ्नै किनाराहरुको बीचमा सङ्लिएरै बगिरहोस् ऊ । ऊ बगिरही आफ्नै गतिमा । घरव्यवहारका कर्महरुमा उही निस्किन्थी पहिलेदेखि नै बाहिरतिर । घर चलाउने सारा जिम्मा उसैको थियो । दैनिक किनमेलदेखि चाडपर्वहरुमा केटाकेटीका लुगाकपडा खेलौना घरका भाँडाकुडा, उसका र मेरा लुगाहरु पनि उसैले छानेर किन्थी । किनमेलको लागि कहिलेकाही अलि टाढा जानुपर्दा ऊ भन्थी, ‘ईश्वर बाबुकै बाइकमा जान्छु । चाँडो फर्किन सजिलो हुन्छ साँझमा ।’ नाचगान र रमिता भनेपछि हुरुक्क हुने स्वभाव थियो उसको । सांस्कृतिक कार्यक्रमहरुमा कहाँ पुग्थिन र ऊ ? को चाहिँ मुग्ध हुँदैनथ्यो र उसको पुतली नाचमा ? परिचय र सम्पर्कको दायरा फराकिलो हुन थाल्यो उसको । मेरोभन्दा बढी उसैको बज्थ्यो मोबाइल । जति रिसाएर फन्के पनि उसको व्यस्तता कम हुने लक्षण थिएन । सामाजिक सञ्जालमा जोडिएर उही बढी व्यस्त हुन थाली । घरबाहिर निस्कने क्रम पनि बढिरह्यो उसको । प्रधानबा भन्नुहुन्थ्यो, ‘आइमाईले यसरी दिनहुँ घरबाट खुट्टाबाहिर निकालेको राम्रो होइन है माइला, धेरै बरालिन नदे बुहारीलाई ।’

ईश्वरको बाइकमा ऊसँगै पछाडि टाँसिएर हुइँकिएको मलाई सह्य भइरहेकै थिएन । टोल छिमेकका युवाहरुसँग हाँसेर बोलेको मलाई जलन भइरहेकै थियो । अरुहरुसँग मुस्कुराएको मलाई चित्त बुझेकै थिएन । हुँदाहुँदा आज यस्तो कुरासम्म यिनै कानले सुन्नुपर्यो, छि छि छि ! अशोकका वाणीहरुले भित्री हृदयसम्मै घोचिरहेकै थिए, ‘बाजे आन्टीको ब्रा र पेन्टी रमण अंकलकोमा...।’ उफ् ब्रा र पेन्टीमा सास झुण्डेको तेरिमा साला जिन्दगी ! सम्झँदा पनि त्यो दृश्य घाँटीमा सास अड्केलाझैं हुन थाल्यो । कापीमा एउटा सुसाइड नोट लेखेर जाऊँजस्तो लागिरह्यो । यही रनाहामा कापीका सेता पानामा मन डुलाइरहें धेरै बेरसम्म । दुखान्त एउटा कथा लेखौँ कि बिछोडको गीत ? मन चुँडिएको एउटा सस्मरण लेखौँ कि गुनासोको एउटा गजल ? धोकाको एउटा कविता लेखौँ कि मृत्युको एउटा मुक्तक ? के लेखौँ, के लेखौँ कठै जिन्दगी ?

‘प्रिय सीता’ दुई शब्द लेख्दा बर्र खसे आँसु रोक्न सकिनँ । एउटा हातको बाहुलाले आँसु पुछ्दै लेखिरहेँ –

‘प्रिय सीता, अनायास जीवनमा आयौ तिमी । तिमीलाई पवित्र गंगाझैँ ठानेर मैले आफ्नो तपसाधना भङ्ग गरी वरण गरेँ । सहयात्राका चौध वर्षसम्म तिमीलाई गंगा नै ठानिरहेँ । तिमीसँगको सामीप्यले नै मलाई एक आर्ष मानवबाट संसारिक मार्गमा डो¥याएको थियो । यति लामो सहयात्रामा तिमीसँग कुनै गुनासो रहेन कहिल्यै । हृदयको पवित्र प्रेमले विभूषित मेरा लागि तिमी जति प्रिय थियौ त्यत्तिकै प्यारा छन् मेरा हृदयका टुक्रारुपी छोराछोरी पनि । आज तिमीसँगको दैहिक र सांसारिक सम्बन्धलाई विच्छेद गरेर म कतै टाढा जाँदैछु । हृदयमा गाँसिएको तिम्री पुरानो याद र छोराछोरीको मायाले मलाई आँउदो जीवनभरि सुखी त हुन दिने छैन नै तर तिमी चाहिँ कदापि दुखी नहुनू । यसरी नै रमाएर जिन्दगी जिउनू । छोराछोरीलाई कहिल्यै दुःखी हुन नदिनू ।

तिम्रो भलो चाहने उही चिन्तामणि भण्डारी ।’ च्यार्र च्यातेर कापीको पाना, निस्केँ म बाहिर । पण्डित धर्मराज ब्रतालु आइमाईहरुको ब्रत पूजनका लागि जाँदै थिए गौरा मन्दिरतर्फ । भनेँ, ‘पण्डितजी हयाँ आउनुस् ।’ आए सरासर उनी । पट्याएको कागज दिएर हातमा भनेँ, ‘यो सीतालाई दिनुहोला ।’ पहेलो गम्छा फिरफिराउँदै उनी गएको हेरिरहेँ । फर्केर सुतेको बिस्तरामा पल्टिने मन लागिरह्यो । आफ्ना लुगा, पुस्तकालय र कोठाकोठा हर्ने मन लागिरह्यो । हेरेँ । सोचेँ, ‘आज अन्तिम दर्शन त हो नि यी सबै चिजको ।’ बर्र खसेका आँसु रोक्न सकिनँ । सानो झोलामा आफ्ना दुई जोर लुगा राख्दैथिएँ कसैले ढोका ढकढक्याएको सुनेँ– ढकढक ढकढक । खोलेर ढोकामा हेरेँ, ओ हो रमणकी श्रीमती मीना ढोकामा थिई । निमेषभरमै म कल्पनाको लहरमा हराएँ, हिजो उसैले रङ्गे हात पक्रेकी थिई होली सीता र रमणलाई । आज त्यही गुनासो पोख्न आई सायद । कति चाँडै हावाको लहरजस्तै अर्को कुरा पनि मनमा आयो– आफ्नो श्रीमान्को चर्तिकला देखेपछि उसलाई प्रतिशोध लिने मन लाग्यो होला श्रीमान्सँँग । र, त्यही कारण र त्यही कामनाले आज ऊ आई मकहाँ, जसरी हिजो सीता गएकी थिई रमणकोमा । सोचाइका यी लहरमा नजाने म कता हराएर अमूक बनिरहेँ । ‘दाजु नमस्कार’ विनयी भाावमा ऊ करबद्ध थिई । म अमूक बनिरहेँ । बुद्धु बगिरहे । उसले भनी, ‘दाजु हिजो भाउजू हाम्रो पसलमा तीजका सामान किन्न जानुभाथ्यो । श्रृङ्गारपटारका धेरै सामान किन्नु भयो । सामान धेरै भएर यो पोलिथिन त उतै छुटेछ भाउजूको । तीजमा चाहिने सामान होला भनेर ल्याइदेकी, राखिदिनोस् दाजु ।’

‘धन्यवाद’ भन्न सकिन मैले ।

‘बस न पानी पिएर जाऊ,’ यो पनि भन्न सकिनँ मैले । हातमा पोलिथिन दिएर ऊ गई, ‘जान्छु दाजु ऐले हतारमा छु ।’ ‘हस्’ भनिनँ मैले ।

कहाँ कहाँ ध्यान गुमाएर ऊ गएकै तर्फ हेरिरहेँ मैले । भित्र पसेर पोको च्यातचुत पारेँ । खोलेर हेर्दा पोलिथिनभित्र एउटा ब्रा थियो एकदम नयाँ, कसैले हात नलाएको । एउटा पेन्टी थियो बिलकुल नयाँ, कुनै दाग नलागेको । त्यति मात्रै थिएन । एउटा दबाईको शिशी थियो एकदम नयाँ, नखोलेको । हेरेँ, त्यो मेरै दमको दबाई थियो । हरेक रात खोक्दाखोक्दा कठै मलाई हैरान भएको देखेकी मेरी श्रीमतीले याद गरेर मेरैलागि किनिदिएको मेरै दमको दवाई थियो त्यो । अनायास आँसु खसे सीतालार्ई सम्झेर । आँसु पुछी हेर्दा हातमा मेरै पत्र लिएर सीता उभिएकी थिई ढोकामा ।

  • नागरिक न्युज साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::