विदेशमा गएका नेपालीले पठाएको तीन करोड ४५ लाखमा म्याग्दीमा २० कोठे विद्यालय

सोमवार, कार्तिक ११, २०७६

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको रु तीन करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

स्थानीयको सक्रियता र प्रवासीहरुको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो । रु तीन करोड ४५ लाखको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले रु ३ करोड भन्दा बढी आर्थिक सहयोग गरेका विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताए ।

पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन २०७२ सालको महाभूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासीहरु विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए ।

साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ५० लाख रुपैयाँ सहयोग उपलव्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले बैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो ।

“विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीहरुबाट मनग्गे सहयोग भएको छ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाअध्यक्ष पद्म पुनले भन्नुभयो–‘दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिहरुबाट प्राप्त सहयोगले गाउँका बालबालिकाहरुले सुविधा सम्पन्न भवन भित्र बसेर अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीहरुप्रति हामी भकिम्लीवासीहरु आभारी छौँ ।”

प्रवासी भकिम्लेलीहरुको सहयोगमा अहिले २० कोठे भूकम्प प्रतिरोधि भवन निमार्ण सम्पन्न भैसकेको छ । विद्यालयले अत्याधुनिक प्रविधिको मेशिन खरीद गरी गाउँमा नै भवन निर्माणका लागि इट्टा बनाएर भवन निर्माण गरेको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::