
शुक्रबार, कार्तिक ४, २०७९
एन ए मिडिया न्युज डेस्क
राष्ट्र ब्यांकको तथ्याङ्कले भदौसम्म विदेशी मुद्राको सञ्चिति नौ अर्ब ३५ करोड डलरमा ओर्लिएको देखाएको छ। यो असारमा नौ अर्ब ५४ करोड डलर थियो। सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउन कतिपय विलासी वस्तुको आयात रोके पनि डलरको सञ्चिति घट्ने क्रम रोकिएको छैन।
यो आर्थिक वर्षको पहिलो दुई महीनामै चालू खाता घाटा रु.३७ अर्ब १८ करोड पुगेको छ। यद्यपि‚ यो गत वर्षको यही अवधिको तुलनामा न्यून हो। गत वर्षको यही अवधिमा चालू खाता घाटा रु.एक खर्ब ६ अर्ब घाटामा थियो। भदौसम्म देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति रु.२३ अर्ब ६८ करोड घाटामा पुगेको छ। गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु.९४ अर्ब ८० करोड घाटामा थियो।
चालू आर्थिक वर्षको पहिलो दुई महीनामा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सकेको छैन। यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु.८१ करोड ऋणात्मक छ। देशमा भित्रिने वैदेशिक लगानीका तुलनामा बाहिरिने लाभांश रकम धेरै भएकाले यो ऋणात्मक भएको हो। गत वर्षको यही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु.तीन अर्ब चार करोड भित्रिएको थियो।
भदौसम्म नेपालले रु.२८ अर्ब ६८ करोडको वस्तु निर्यात गरेकोमा रु.दुई खर्ब ७३ अर्ब ६० करोडको वस्तु आयात गरेको छ। चालू वर्षको दुई महीनामा अन्तर्राष्ट्रिय व्यापारमा नेपालले रु.दुई खर्ब ४५ अर्ब हाराहारीमा घाटा बेहोरेको छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया