
बुधबार, असार १, २०७९
नेपाली शेयर बजार पनि चपेटामा....
अमेरिकाको उपभोक्ता मुद्रा स्फीति ८.६ प्रतिशतमा उक्लियो। जुन ४० वर्ष यताकै उच्च हो। यो सन् १९८१ पछिकै सबैभन्दा उच्च मुद्रा स्फीति हो। जुन अपेक्षा गरिएको भन्दा रातो र अत्यधिक तातो थियो। जसलाई विश्व बजारमा ‘रेड हट इन्फ्लेसन’ को संङ्ग्या दिइएको छ।
शुक्रवार प्रकाशित ‘रेड हट इन्फ्लेसन’ ले सोमबार खुलेका अमेरिकी शेयर बजारलाई अप्रत्याशित झट्का दियो। समग्र अमेरिकी शेयर बजार दुई प्रतिशत भन्दा बढीले घटे। सबैभन्दा बढी प्रेसर न्यास ड्याकमा पर्यो। उसले मात्रै ३.५२ प्रतिशतको गिरावट झेल्नु पर्यो। शुक्रवार उक्त आँकडा प्रकाशित भएसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भलाई ब्याजदर बढाउने दबाब परेको छ। ब्याजदर थप बढ्ने अनुमानले सोमबार अमेरिकी शेयर बजार घटेका हुन्।
‘रेड हट इन्फ्लेसन’ को असर अमेरिकामा मात्रै सीमित रहेन। त्यसको हावा विश्व शेयर बजारमा तीव्र गतिमा फैलियो। भाइरस जसरी फैलिएको ‘रेड हट इन्फ्लेसन’ को चपेटमा युरोपदेखि एसिया समेत परे। विश्वका ९८ प्रतिशत शेयर बजार सोमबार घटेर बन्द भए। घट्ने क्रम अमेरिकाबाट सुरु भएर समग्र युरोप देखि छिमेकी राष्ट्र भारतसम्म आइपुग्दा नेपाली शेयर बजार पनि त्यसबाट अछुतो रहन सकेन। नेपाली शेयर बजार समेत सोमबार १५.८२ अंकले घट्यो।
हुन त नेपाली शेयर बजारलाई विश्व बजारमा हुने आर्थिक गतिविधिले खासै छुँदैन। तर विश्व बजारमा बढिरहेको मुद्रा स्फीतिसँग नेपालको सोझो सम्बन्ध हुने गर्छ। किनकि नेपाल इनपोर्ट बेस इकोनमी हो। बाह्य क्षेत्रमा पर्ने दबाबले नेपाली अर्थतन्त्रलाई सिधै असर गर्छ। आयात हुने सबै बस्तु महँगीको चापमा पर्दै गएपछि नेपालको मुद्रा स्फीतिमा त्यसले प्रत्यक्ष प्रभाव पार्छ नै। यद्यपि नेपालको मुद्रा भारतीय मुद्रासँग स्थिर भएकोले त्यसको असर नेपाललाई पर्दैन कि भन्ने पनि लाग्न सक्छ। तर जुन मुद्रासँग नेपालको मुद्रा स्थिर छ। त्यही मुद्रा अवमूल्यन हुँदा पक्कै त्यसको असर नेपाली मुद्रामा पर्छ नै।
भारतीय मुद्रा अवमूल्यन अहिलेसम्मकै रेकर्ड उन्मुख छ। सोमबार मात्रै एक डलर बराबर भारतीय रुपैयाँ ७८.६ पैसा कायम छ। जबकि यो दर ७८.१८ पैसासम्म उक्लिएर झरेको हो। यो दर अहिले घटेको देखिए पनि विश्व बजारमा बढ्दै गएको महँगीले यसलाई थप बढाउने अनुमान गरिएको छ। किनकि भारतमा मुद्रा स्फीति दर बढ्दो अवस्थामा छ। अहिलेसम्मको तथ्याङ्क अनुसार भारतको उपभोक्ता मुद्रा स्फीति दर ७.७९ प्रतिशतसम्म उक्ली सकेको छ। यो गएको आठ वर्ष यताकै उच्च हो। भरतले सोमबार नै नयाँ आँकडा सार्वजनिक गर्दै छ। जसमा यो आँकडा बढेर आउने अनुमान गरिएको छ। जसको प्रतिक्रिया सोमबार खुलेको भारतीय शेयर बजारले दिई सकेको छ। सोमबार मात्रै भारतीय शेयर बजार सेनसेक्स २.६८ प्रतिशतले घट्यो भने अर्को सूचक निफ्टि २.६४ प्रतिशतले ओर्लियो।
भारतीय रुपैयाँ कमजोर भएकै कारण नेपाली रुपैयाँ पनि लगातार अवमूल्यन उन्मुख देखिएको छ। नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा छ। भारतमा बढ्ने मुद्रा स्फीतिले भारतीय मुद्रालाई थप कमजोर बनाउने छ। जसको असर नेपालको अर्थतन्त्रमा पर्ने छ।
विश्व नै अहिले मुद्रा स्फीतिको चपेटमा परेको छ। सोमबार सार्वजनिक गरिएको तथ्याङ्कले बेलायतको अर्थतन्त्र अप्रिलमा थप सङ्कुचित भएको देखाएको छ। सोमबार सार्वजनिक भएको तथ्याङ्कमा बेलायतको कुल गार्हस्थ्य उत्पादन ०.३ प्रतिशतले सङ्कुचित भएको छ। जनवरी २०२१ पछि पहिलो पटक उत्पादन, सेवा र निर्माण क्षेत्रहरू एकै साथ घटेका छन्। यता कुल गृहस्थ उत्पादन घटेको छ भने उता मुद्रा स्फीति ९ प्रतिशतमा उक्लिएको छ। मुद्रा स्फीति सम्बोधन गर्न त्यहाँको केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ ले ब्याजदर बढाउने अनुमान गरिएको छ। जसको लागि आउने बिहीबार छलफल गरिने भएको छ।
बढ्दो मुद्रा स्फीति घटाउन विश्वका केन्द्रीय बैंकहरुले लगातार ब्याजदर बढाउँदै लगेका छन्। युरोपमा त्यसै पनि ब्याजदर बढाइएको अवस्था छ भने उता भारतीय केन्द्रीय बैंकले समेत कडा नीति अघि सारिसकेको छ। आगामी हप्ता विश्वव्यापी केन्द्रीय बैंक र बजारहरूको लागि बढ्दो मुद्रास्फीति विरुद्धको लडाई निर्णायक हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसिले आफ्नो समाचारमा लेखेको छ।
उसका अनुसार फेडरल रिजर्भ अधिकारीहरूले आफ्नो अर्को मौद्रिक नीतिको विषयमा छलफल गर्न मंगलबार र बुधवार भेट्नेछन्। फेडरल खुला बजार समितिले बुधवार कम्तीमा ५०-आधार-बिन्दु वृद्धिको घोषणा गर्ने व्यापक अपेक्षा गरिएको छ। यस वर्ष पहिले नै दुई पटक दरहरू बढाइसकिएको छ। सोही आकलनका कारण शेयर बजार थप घट्ने अनुमान विश्व बजारमा व्याप्त हुँदै गएको हो।
आउने २०२२ को चौथो त्रैमासदेखि २३ को पहिलो त्रैमाससम्म विश्व शेयर बजार र बण्ड मार्केट घट्ने प्रक्षेपण विश्व बजारमा आउन थालेका छन्। आर्थिक मन्दीको सङ्केत सोमबारको बजारले गरिसकेकोले विश्वका लगानीकर्ताले आउने केही महिना सावधानी अख्तियार गर्नु पर्ने सुझाव आउन थालेका छन्।
विश्वमा आएको आर्थिक मन्दी, बढ्दो मुद्रा स्फीति, लगातार बढ्दै गएको ब्याजदर र लगानी योग्य रकमको अभाव झेलिरहेको नेपालको शेयर बजारले समेत आर्थिक मन्दीको सङ्केत गरिरहेको छ। जसले गर्दा नेपाली लगानीकर्ताले समेत यस्तो अवस्थामा सावधानी अपनाउनुको विकल्प छैन। किनकि नेपाली घट्दो शेयर बजारले पनि त्यही सङ्केत गरिरहेको छ।
साभार:
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया