विसं २०७९ : पर्यटनमा आशाको किरण देखिदै

बिहिबार, बैशाख १, २०७९

एन ए मिडिया न्युज डेस्क

विसं २०७९ : पर्यटनमा आशाको किरण देखिदै

मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक रहेकोमा पछिल्लो समय  कोभिड–१९ महामारी बाट बिश्व क्रमश: मुक्त हुदै गर्दा २०७९ मा आशाको किरण देखिएको छ।

वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए । समग्रमा पर्यटन क्षेत्रमा चुनौतीसँगै उत्साह पनि थपिएको छ । कोभिड महामारीको दोस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ को उत्तरार्द्धमा पर्यटन क्षेत्रमा धेरै आशाका सम्भावना देखिए ।

होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान)ले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुसपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताए ।  कार्यवाहक अध्यक्ष शाहका अनुसार पछिल्ला दिनमा पर्यटक आगमन पनि बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । पर्यटकीय गतिविधि बढेका छन् ।

ठूला इभेन्ट, मेला, महोत्सवले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । यकिन तथ्याङ्क नरहे पनि देशभर साना–ठूला गरी झण्डै १० हजार होटल छन् । ती होटलमा करिब दुई लाख बेड रहेको हानले जनाएको छ । पर्यटकस्तरदेखि पाँचतारे होटल धमाधम बनिरहेकाले यो सङ्ख्या अझै बढ्ने बताइएको । ठूला चेन होटल पनि निर्माणाधीन छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी का अनुसार  “अघिल्लो वर्ष पर्यटनका लागि दुःखद् भयो । विदेशी पर्यटक आगमन न्यून रह्यो । आर्थिक उपार्जन हुन सकेन, यो वर्ष २०७९ तुलनात्मकरूपमा राम्रो होला भन्ने अपेक्षा छ, विदेशी पर्यटक आउन थालेका छन् ।”

नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै, सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमण गरेका थिए ।

यस वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुका लागि उल्लेख्य सङ्ख्यामा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार चैत २९ सम्म सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ७४ टिमका छ सयभन्दा बढी आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::