सञ्चालनमा नआउँदै रेल्वेका १७ हजार थान क्लिप चोरियो, फलाम चोरेर कबाडमा बिक्री !

सोमवार, मंसिर १५, २०७७

सञ्चालनमा नआउँदै रेल्वेका १७ हजार थान क्लिप चोरियो, फलाम चोरेर कबाडमा बिक्री !

२०७७ असोज २ गते नेपाल सरकारले आफ्नै लगानीमा भारतको कोंकोन रेल्वे कम्पनीबाट खरिद गरेको दुई सेट रेल जनकपुरधाम आइपुगेको थियो । कोरोना महामारीको चरम संकटका बेला समेत हजारौं मानिसहरूले जनकपुरधामस्थित रेल्वे स्टेसनमा रेललाई स्वागत गरे ।

भारतको जयनगरदेखि धनुषाको कुर्था स्टेसनसम्म रेलको परीक्षण गरिएको थियो । जनकपुरदेखि कुर्थासम्म परीक्षण गरिएका बेला रेलमा धनुषा, महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक, रेल विभागका पदाधिकारीसहित जनकपुरका पत्रकारहरू पनि चढेर रेलको आनन्द लिएका थिए ।

त्यहाँ आयोजना गरिएको छोटो पत्रकार सम्मेलनमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रामजानकी विवाह पञ्चमी महोत्सवबाट रेल सञ्चालन गर्ने सरकारको तयारी रहेको बताएका थिए । तर, विवाह पञ्चमीदेखि रेल सेवा सञ्चालनमा आउन नसक्ने कुरा एक किसिमले निश्चित भइसकेको छ ।

जनकपुर आएको उक्त रेल त्यसको भोलिपल्ट असोज ३ गते नै धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ स्थित रहेको इनर्वा स्टेसनमा फर्कियो । उक्त स्टेसनमा हालसम्म दुवै रेलको सेटलाई सुरक्षाका दृष्टिकोणले पालले छोपेर राखिएको छ ।रेल्वेको सुरक्षाका लागि त्यहाँ सशस्त्र प्रहरी बलले चौबीसै घण्टा सुरक्षा प्रदान गरिरहेको छ ।

रेल्वे ट्रयाकका सामानहरू चोरी

रेल्वे सञ्चालनमा नआउँदै रेल्वे ट्र्याकको सामानहरू चोरी हुन थालेको छ । यति मात्र होइन, बनेको रेल्वे स्टेसनदेखि लेभल क्रसिङ, सिग्नल घर समेतका सामानहरू चोरी हुने तथा निर्मित सामानहरू फुटाउने काम हुने गरेको छ । जनकपुरस्थित रेल विभागको साइट इञ्चार्ज विनोदकुमार ओझाका अनुसार निर्मित रेल्वे ट्र्याकको १७ हजार थान क्लिप मानिसहरूले उखेलेर लगेका छन् ।

‘हामीले ट्रलीमा चढेर जयनगर देखि कुर्था स्टेसनसम्म निरीक्षण गर्दा कुल १७ हजार थान क्लिप मानिसहरूले चोरी गरेर लगेको पाइयो,’ ओझाले भने, ‘प्रायःजसो कबाडका लागि फलाम संकलन गरेर बेच्ने मानिसहरू तथा बालबालिकाले चोरेर लगेका छन् ।’

दुई पटक केही बालबालिकालाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको तर बालबालिका भएका कारण कुनै सजाय नै नगरी सम्झाइबुझाइ उनीहरूका अभिभावकलाई प्रहरीले जिम्मा लगाएको उनले बताए ।

त्यति मात्र होइन, परबाहा स्टेसनमा रहेको दुईवटा बिजुलीको पोल, स्टेसन घरको झ्याल तथा ढोकामा लगाइएको फलामको ग्रिल समेत उखेलेर मानिसले लगेको उनी बताउँछन् । कुर्था स्टेसनमा यात्रुहरूलाई बस्नका लागि बनाइएको सिमेन्टको बेञ्च तथा स्टेसनमा लगाइएको टायल्ससमेत मानिसहरूले तोडफोड गर्नुका साथै स्टेसनको घरको छानामा लगाइएको दुई वटा सिलिंग फ्यान समेत उखेलेर चोरी गरेर मानिसले लगेको उनले बताए ।

रेल्वेको लागि बनाइएको सिग्नल रूमको ढोकाको ताला फुटाएर यात्रुहरूको लागि एनाउन्स गर्ने बाजा (एम्प्लिफायर) समेत चोरेर लगेका छन् । लेभेल क्रसिङका लागि विभिन्न स्थानमा बनाइएका फाटकहरूको व्यारियर उखेलेर समेत क्षतिग्रस्त बनाएका छन् ।

रेल्वे स्टेसनदेखि पूर्वाधार निर्माण गरिरहेका भारतीय निर्माण कम्पनी इरकनले रेल्वे ट्र्याक तथा स्टेसन घर हाल सम्म नेपाल सरकारलाई हस्तान्तरण नगरेकाले क्षति भएका सामानहरूको पुनर्निर्माण गर्ने काम युद्धस्तरमा जारी रहेको ओझा बताउँछन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::