सपना : अन्तर्राष्ट्रिय विमानस्थल

आइतवार, फाल्गुन ८, २०७३

NA Media

सपना : अन्तर्राष्ट्रिय विमानस्थल

प्रदेशहरूको खाका सार्वजनिक भएलगतै विमानस्थल निर्माणको माग गर्नेहरू बढेका छन् । क्षेत्रगत रूपमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्नेहरू पनि छन् । अहिलेको तयारी हेर्दा दशकभित्र काठमाडौंसहित चारवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने देखिन्छ । यी सबै काठमाडौंदेखि बढीमा आधा घण्टाको हवाई दूरीमा छन् । यीमध्ये दुइटाको उद्देश्य पर्यटकलाई सोझै गौतम बुद्धको जन्मथलो लुम्बिनी र पर्यटकीय राजधानी पोखरामा उतार्ने छ । त्यस्तै काठमाडौंलाई तराईसँग जोड्ने फाष्टट्रयाकको एक छेउ निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले त्रिभुवन विमानस्थलको ‘ट्राफिक’ मा सहजता ल्याइदिने दाबी गरिएको छ । ‘मिडियम रेन्ज’ का विमानले सेवा दिने ‘फोर डी’ स्तरको विमानस्थल निर्माणका लागि चिनियाँ निर्माण व्यवसायी केही महिनाअघि पोखरा पुगिसके । नेपाल र चीन सरकारबीच २२ अर्ब ऋण सम्झौता भइसकेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका अनुसार चिनियाँ इन्जिनियरले तयार पारेको नक्सालाई परामर्शदाताले स्वीकृत गरेपछि निर्माण कार्य थालिनेछ । आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीका अनुसार पुरानो मुआब्जा वितरण सकिइसकेको छ । उक्त परियोजनाले परिकल्पना गरेको विमानस्थल बाहिरको सडक ‘पेरिफेरी रोड’ निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया थालिसकेको छ । करिब ४ किलोमिटर सडकमा पर्ने जग्गा र २६ वटा घरलाई मन्त्रिपरिषद्को स्वीकृतिपछि मुआब्जा वितरण थालिनेछ । अधिकारीका अनुसार विमानस्थलका लागि ऋण उपलब्ध गराउने चिनियाँ एक्जिम बैंकले ‘लोन इफेक्टिभ’ गराउने बित्तिकै निर्माण सुरु हुनेछ र त्यही दिनदेखि लागू हुने गरी चार वर्षभित्र त्यो विमानस्थलको निर्माण सकिने योजना छ । यस वर्ष यो परियोजनाका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यो विमानस्थल बनेपछि पोखरादेखि बढीमा ५/६ घण्टा हाराहारी हवाई दूरीमा पर्ने भारत, चीन, बंगलादेश, हङकङ, भुटानसम्मका मुलुकसँग पोखरा जोडिनेछ । ४० वर्षअघि अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । ०७० पछि नागरिक उड्डयन प्राधिकरणले थप ५ सय २१ लिएपछि निर्माण प्रक्रियाले तीव्रता पायो । ५९ वर्षअघि डकोटा विमान उडाउँदै सञ्चालनमा ल्याइएको भैरहवास्थित गौतम बुद्ध विमानस्थललाई अहिले अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्य धमाधम चल्दै छ । अब अवरोध नभए ०७५ जेठदेखि भैरहवाबाट बोइङ ७५७/एयरबस ३२० हाराहारीकै मध्यम आकारका जेट विमानले सेवा सुरु गर्नेछन् । परियोजना प्रमुख ओमनारायण शर्माका अनुसार २७ प्रतिशत काम सकिइसक्यो । १५ सय मिटर लामो/३० मिटर चौडाइ मात्रै रहेको धावनमार्गलाई स्तरोन्नति गर्दै ३ हजार मिटर लामो ४५ मिटर चौडाइ बनाउने कार्य सकिसकेको छ । ‘जमिनको तहभन्दा डेढ फिट मोटाइ भएको ग्राभेल हाल्ने कार्य सकिइसकेको छ,’ उनले भने । यसपछि कालोपत्रे गरिनेछ । मधेसमा भएको हडतालका कारण ढिलाइ भएकाले ठेकेदार कम्पनीलाई सरकारले १ सय ६७ दिनको म्याद थपिदिएको छ । ‘अब डेढ वर्ष बाँकी छ, यो समयमा बाँकी काम सक्ने लक्ष्य छ,’ शर्माले भने । साँघुरिँदै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माण प्रक्रियामा ढिलाइ भोग्दै आइरहेको दोस्रो भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको सुस्तता देखेपछि प्राधिकरणले एसियाली विकास बैंकको ऋण तथा अनुदान लिई ०७० मंसिरमा ग्लोबल टेन्डर आह्वान गर्दै नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपलाई ग्लोबल टेन्डरमार्फत गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गर्न छनोट गरेको थियो । यसले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । धावनमार्ग बढाउनुका साथै ६ वटा मध्यम प्रकारका जेट विमान पार्किङ गर्न सकिने वे (एप्रोन) पनि निर्माण हुँदै छ । त्यस्तै ट्याक्सी–वे, टर्मिनल भवन, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, इलेक्ट्रिकल सबस्टेसन, पनि निर्माण हुँदै छन् । यो विमानस्थल स्तरोन्नति भई सञ्चालनमा आइहाले नेपाललाई मध्यपूर्वी मुलुक जोड्न सजिलो हुनेछ । त्योभन्दा धेरै फाइदा अबको १५ वर्षपछि हुने परिकल्पना गरिएको छ । दैनिक १५/१६ हजार यात्रु यो विमानस्थल प्रयोग गर्ने प्रक्षेपण गरिएको छ । ‘विश्वभर १ अर्ब वौद्धमार्गी रहेको अनुमान छ, यो विमानस्थल सञ्चालनमा आइहाले १ प्रतिशत मात्रै बुद्धिस्ट नेपालमा आए वार्षिक १ करोड पर्यटक लुम्बिनी आउनेछन्,’ शर्माले भने । तराईको लाइफलाइन भनिएको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्ला पहिचान गरी कंक्रिट डिमार्केसनको काम सकिसकेको छ । प्राधिकरणका अनुसार अहिले जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गर्दै परियोजनाले मूल्यांकन र वातवरणीय प्रभाव मूल्यांकनसम्बन्धी काम गर्दै छ । यस परियोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । परियोजना प्रमुख हरिप्रसाद अधिकारीका अनुसार यो बजेटबाट जग्गाको मुआब्जा तिर्ने, पेरिमिटर सडक निर्माण, फेन्सिङ, अध्ययनलगायतका काम गर्नुपर्नेछ । यो परियोजनासँगै जोडिएको काठमाडौं–तराईमधेस द्रुतमार्ग पनि हो । तर, यो द्रुतमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कुन मोडलबाट बनाउनेबारे सरकारले अझै निणर्य गर्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार दु्रतमार्गलाई कुन मोडलबाट कसरी निर्माण गर्नेबारे सरकारले अध्ययन समिति बनाएको छ । उसको प्रतिवेदनको सुझावमा यसको भविष्य अल्झेको छ । कान्तिपुर बाट साभार

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::