साउदी अरबमा रहेका स्याङ्जाली हरुको नयाँ अभियान, स्याङ्जामै न्युनतम ५ करोडको लगानीमा आँधीखोला कृषि तथा पशु फर्म कम्पनी खोल्ने

शुक्रबार, पुस ४, २०७६

टिका के.सी - सम्पादक

साउदी अरबमा रहेका स्याङ्जाली हरुको नयाँ अभियान, स्याङ्जामै न्युनतम ५ करोडको लगानीमा आँधीखोला कृषि तथा पशु फर्म कम्पनी खोल्ने

दम्माम, साउदी अरब ।

साउदी अरबमा रहेका स्याङ्जालीहरुले बिदेशमा बचत गरेको रकमको केही अंश लगानी गरी स्याङ्जा जिल्ला मै न्युनतम ५ करोडको लगानी बाट शुरु गरी अधिकतम भन्दा अधिकतम लगानी जुटाउने हेतु ले आँधीखोला कृषि तथा पशु फर्म कम्पनी खोल्ने भएका छन।

नेपाली दुतावास रियादका नियोग उप-प्रमुख दिलिप कुमार पौडेल तथा दुतावासकै लेवर कन्सुलर अम्बिका प्रसाद अधिकारी एवम ग्लोबल आई एम ई बैंकका कन्ट्रि मेनेजर राम बहादुर क्षेत्री को बिशेष उपस्थितीमा दम्मामको रोज होटलको सभाहलमा आज स्याङ्जाली हरुको बृहत भेला भएको थियो । उक्त बैठकको सभापतित्व यसै फर्म तदर्थ समिति का संयोजक राजु सैयदले गरेका थिए।सोही बैठकमा आजै करिब २ करोड रकम उठी सकेको छ।

यसै बिषयमा नेपाली दुतावास रियादका नियोग उप-प्रमुख दिलिप कुमार पौडेलले स्याङ्जालीहरुले शुरु गरेको अभियान प्रति सिङ्गो दुतावास नै गौरवान्बित भएको साथै स्याङ्जालीहरुको यस अभियानलाई अनुशरण गर्दै साउदी अरबमा रहेका अन्य नेपालीहरुले पनि आ-आफ्नो क्षेत्रमा लगानी गर्ने छन भन्ने कुरा आफु बिश्वस्त रहेको बताए।सबै नेपाली हरुलाई यस्ता बिषयहरुमा उचित परामर्श तथा हरेक किसिमको सहयोग गर्न दुतावास हरदम तयार रहेको पनि नियोग उप-प्रमुख पौडेलले बताए।आफ्नो मन्तब्यकै क्रममा स्याङ्जालीहरु ले शुरुगरेको यस अभियानले दिर्घकालिन रुपमा मुलुकलाई नै टेवा पुराउने बताउनु भयो।साथै कम्पनी दर्ता प्रकृया तथा लगानीको सुनिश्चितताको बारेमा पनि उपस्थित लगानी कर्ताहरु बिच प्रष्ट पारेका थिए।

सोही बैठकमा नेपाल सरकारका लेवर कन्सुलर अम्बिका प्रसाद अधिकारीले पनि स्याङ्जालीहरुले शुरु गरेको अभियानलाई सकारात्मक लिदै अरुले पनि स्याङ्जालीको सिको गरे मुलुक समृद्बिमा जाने जिकीर गरे। नेपालको तथ्याङ्क अनुशार नेपाल मा भित्रिने रेमिट्यान्स अन्तर्गत को प्रतेक १०० रुपैया बराबर ७ रुपैया मात्र बचत हुने त्यो पनि स्थिर पुजीँमा लगानी हुने भएकाले स्याङ्जाली हरुले संचालन गर्न लागेको यस कम्पनीले समाजको बिकाशमा महत्वपूर्ण भुमीका बहन गर्ने बताए।आफ्नो जन्मथलोमा गरेको लगानीले निश्चितरुपमा मुलुकका विभिन्न जिल्लाबाट रोजगारी वा व्यवसायका सिल्सिलामा खाडिमुलुक र संसार भर छरिएर रहेका आम नेपालीका लागि एउटा प्रेरणाको सन्देश पनि दिन्छ र संगठित भएर लगानी गर्न मद्यत गर्दछ -अधिकारीले बताए।

तदर्थ समितिका कोषाध्यक्ष जेस कुमार श्रेष्ठले कोषलाई कसरी ब्याबस्थित गर्ने तथा पारदर्शिताको बारेमा लगानी कर्ताहरुलाई प्रष्टाएका थिए।कम्पनी को आफ्नै निति नियम तथा बिधान हुन्छ जस्लाई कुनै एक, दुई ब्याक्तिले चाहदैमा केही गर्न नसक्ने बताउतै लगानी कर्ताहरुलाई ढुक्क भएर लगानी गर्न अनुरोध गरेका थिए।

सोही बैठकमा बोल्दै ग्लोबल आई एम ई का कन्ट्री म्यानेजर राम बहादुर क्षेत्रीले पनि स्याङ्जालीहरुले शुरुवात गरेको यो अभियानको मुक्तकण्ठले प्रशंसा गरेका थिए साथै कुनै पनि किसिमको बैंकिंङ कारोबारमा आँधीखोला कृषि तथा पशुपालन फर्मसँग हालेमालो गरी अगाडी बढ्न ग्लोबल आई एम ई बैंक हमेशा तत्पर रहने प्रतिबद्वता पनि जाहेर गरे।

यसै क्रममा उपस्थित लगानी कर्ता र जानकारहरु बिच अन्तरक्रिया पनि भएको थियो। लगानीकर्ताहरुका जिज्ञासाहरु लाई दिलिप कुमार पौडेल, जेस कुमार श्रेष्ठ, राजु सैयद तथा राम बहादुर क्षेत्रीले संम्बोधन गरेका थिए। आजको उक्त बैठकमा सबै लगानीकर्ता हरुले आफूले लगानी गरेको रकमको पहिलो किस्ता पनि बुझाएका थिए ।

यसको लगतै बैठकका सभापति राजु सैयदले कार्यक्रमको बिर्सजन गरेका थिए। यसै सन्दर्भमा आफु ब्यबसायको कारण आफ्नो जन्मथलो बाट टाढा भरहेको अवस्थामा यो अबधारणा र अभियानले फेरी आफ्नो माटो सँग जोडीने बाताबरण सिर्जना गरेको मा खु़शी ब्याक्त गरे। साथै यो कम्पनीमा बिदेशमा छरीएर रहेका स्याङ्जालीहरु माझ आफै प्रतक्ष्य पुगेर ठुलो मात्रामा लगानी संकलन गर्ने प्रतिबद्वता पनि जाहेर गरे।

कहाँ पुग्यो कम्पनीको तयारी?

गत ४ अक्टुबर २०१९ का दिन नेपाली दुतावास रियादका नियोग उप-प्रमुख दिलिप कुमार पौडेलको निजी निवासमा साउदी अरबमा रहेका स्याङ्जालीहरुलाई भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो। सोही दिनको छलफलको क्रममा बिदेश तथा स्वदेशमा रहेका स्याङ्जालीहरुलाई समेट्ने गरी एउटा कम्पनी संचालन गर्ने निर्णय गरियो।

सोही छलफलमा एक अध्यन टोली गठन गरि कम्पनी संचालनका सम्भाब्यताका बिषयहरुमा प्रतिबेदन तयार पारीयो साथै कम्पनी चलाउन आवश्यक पूजी, कानुनी पाटो तथा अन्य बिबिध कुराहरुको निर्णय नियोग उप-प्रमुख दिलिप कुमार पौडेलक निजी निवासमा दुतावासका महामहिम राजदुत प्रो. डा. महेन्द्र सिंह राजपुतको बिशेष उपस्थितीमा १५ नोभेम्बर २०१९ का दिन गरियो। सोही दिन लगानीकर्ताहरुको बोलबोलाई एबम कम्पनीको नामाकरण गरिनुका साथै लगानीको पहिलो किस्ता संकलन गर्ने निर्णय गरियो।

आज मिति २० डिसेम्बर दिन सम्म आईपुग्दा सो अभियान करिब २ करोडको रकम उठाई सकेको छ भने कम्पनीको डिपीआर तयारी, संस्थापक शेयर होल्डरहरुको सार्वजानिक आब्ह्वान , उपयुक्त जग्गा छनौटको प्रकृया लगाएतका तयारीहरुमा ठुलो छलाङ मारीसकेको छ।जग्गा छनौटको प्रक्रिया अन्तरगत गल्याङ नगरपालिका , चापाकोट नगरपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, फेदिखोला गाँउपालिका, आँधीखोला गाँउपालिका, पुतलीबजार नगरपालीका लगाएत स्याङ्जा जिल्ला भित्र रहेका बिभीन्न ठाँऊहरुमा अध्यन भैसकेको तथा हुदै गरेको छ भने बिज्ञ टोलीहरुबाट छिट्टै माटो परिक्षण तथा प्राबिधिक अनुसन्धान गर्नको लागी पनि समिती गठन गरिसकिएको छ।

कृषि र पशुव्यवसायमा नै लगानी किन ?

अहिले हामी जुन बजेटबाट योजना ल्याएका छौ कृषि र पशुव्यवसायमा लगानी गर्ने यसका पछाडि कारण छन् । नेपालमा लगानीको अभाव हैन जतिपनि लगानी भएको छ । लगानीको प्रतिफल पनि चांडै प्राप्त भएका होलान् । यो रकमले शहर बजारमा होटल व्यवसाय गरेर पनि आम्दानी हुन्छहोला । तर हामीले गर्ने लगानी एउटा दीर्घकालीन भरपर्दो व्यवसायका रुपमा स्थापित होस र लगानीको अनुभूति मुलुकले पनि गरोस् भन्ने हो । त्यस्तो एउटा क्षेत्र हो कृषि र पशुव्यवसाय जसमा राज्यको समेत प्राथमिकता रहेको छ ।

नेपालको अर्थतन्त्र र आवश्यकताको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र अत्यन्त ओझेलमा परेको छ । तपाइ हामीले खाडीमा दुखकासाथ आर्जन गरेको महंगो विदेशी मुद्रा आयातित खाद्यपदार्थमा खर्च हुनेगरेको छ जुन सजिलै नेपालमा उत्पादन हुन सक्दछ ।

कृषि तथा पशुपालनको क्षेत्रमा लगानी गर्नाले स्थानीय स्तरमा पूजि परिचालन हुने, स्थानीय श्रमको प्रयोग हुने र खेतिपाती तथा पशुव्यवसायबाट निस्कृय भइ बसेको उपभोगमुखी स्थानीय समुदायलाई श्रमको महत्व र उद्यमशीलताको बुझाउन मद्यत पुग्ने ।

हामीले देश विदेशमा कृषि तथा पशुपालनका क्षेत्रमा ठूला ठूला प्रगतिका कथाहरु सुनेका छौं । कतिपयले ती ठूलाठूला कृषि फारमहरुमा काम गरेका छौं तर हामी केही गर्दैनौ । यसलाई चिर्नका लागि पनि साउदी अरबमा बसेका नेपालीहरुले सामूहिक नेतृत्व लिनुपर्यो भन्ने उद्देश्यले ।

हामीले कमाएको धनलाई शहर बजारमा मात्र केन्द्रित गर्यौ । यसले गर्दा गाउघर प्रष्ट ओझेलमा परे परम्परागत रोजगारीहरुको पनि अन्त भयो । गांउघर प्रतिको हाम्रो भरोसा नक्कली जस्तो हुन थाल्यो । तसर्थ, हाम्रा गांउघरमा आसा र भरोसा जगाउन र समुदायमा स्वरोजगारी सृजना गर्न समेत यस प्रकारका आयोजनाको महत्व हुने भएकाले योजना लैजानु जरुरी रहेको छ ।

भावी पुस्तालाई उद्यमशीलताको आभास दिनका लागि पनि आयोजनाका महत्वपूर्ण भूमिका रहेको छ । राष्ट्र निर्माणमा योगदान गर्ने यो अत्यन्त महत्वपूर्ण अवसर हो ।

कृषि र पशुपालनको व्यपार अव आकास र सासको भरको धन होइन । भरपर्दा वीमा व्यवस्थाले यो विश्वासनीय धन भइसकेको छ ।यो एक दीगो व्यपारका रुपमा स्थापित भइसकेकाले यो सबैभन्दा नाफा व्यपार भएकोले यसमा लगानी गर्नु उपयुक्त छ ।अन्ततोगत्वा हामीले गरेको लगानीको प्रतिफलले हाम्रो र परिवारका लागि दीगो आम्दानीको बाटो सुनिश्चित हुनेछ ।

स्याङ्जामा नै किन?

  आफ्नो जन्मस्थानको अर्थतन्त्रलाई प्रवर्द्बन गर्न- माटो ।

आफ्नो समाजसंगको भावनात्मक सम्बन्धलाई मजबुत बनाउन ।

आफ्नो परिवार र आफन्तजनसंगको सम्बन्धको बन्धनलाई बलीयो बनाउन।

आफ्नो गांउठाउंका युवायुवती र बालबालिकाहरु जो हाम्रो भविश्यका आसा र विश्वासका भकारीहरु हुन, उनीहरुमा उद्यमशीलताको माटो भर्नका लागि ।

वर्षौंको अत्यन्त कठीन मिहेनतबाट कमाइगरेर घरखर्च चलाएर वचाएको सानो वचतको आफ्नै जन्मथलोमा सुरक्षित तर उपलव्धिमूलक अवतरणका लागि ।

आफ्नो जन्मथलोमा गरेको लगानीले निश्चितरुपमा मुलुकका विभिन्न जिल्लाबाट रोजगारी वा व्यवसायका सिल्सिलामा खाडिमुलुक र संसार भर छरिएर रहेका आम नेपालीका लागि एउटा प्रेरणाको सन्देश पनि दिन्छ र संगठित भएर लगानी गर्न मद्यत गर्दछ । वैदेशिक रोजगारीबाट फर्किएका दाजुभाई दिदी बहिनीहरुले मुलुकका विभिन्न ठाउंमा पेशा व्यवसाय पनि गरिरहेका छन। उनीहरु लाई समेत यसले उर्जा थप्दछ । यसबाट अन्ततः मुलुकको विकासमा महत्वपूर्ण योगदान पुर्याउदछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::