
मङ्लबार, भदौ १७, २०७६
सानै उमेरमा व्यवसायमा छलाङ मारेकी रोजी खड्काले सञ्चालन गरेको एफएनएफ फेसनबाट झन्डै दुई दर्जनले रोजगारी पाएका छन् । अहिलेको प्रविधि प्रयोग गरेर व्यवसायलाई अगाडि बढाएकी रोजीले यही व्यवसायलाई व्यापक बनाउने उद्देश्य लिएकी छन् ।उनले सञ्चालन गरेको व्यवसाय, त्यसका चुनौती र भावी योजनाबारे रोजीसँग को कुराकानी :
० आफूलाई कसरी चिनाउनु हुन्छ ? – म रोजी खड्का हुँ । ललितपुरको महालक्ष्मी नगरपालिकाको डाँडाथोकमा घर छ । एफएनएफ फेसन नामको व्यवसाय सञ्चालन गरेकी छु ।
० एफएनएफ फेसन कस्तो व्यवसाय हो ? – एफएनएफ फेसनले बंगलादेशबाट आयातित ब्रान्डेड रेडिमेड कपडाको थोक तथा खुद्रा विक्रेताको काम गर्छ । हामीले रातोपुल र न्युरोड गरी दुई ठाउँमा ‘आउटलेट’ राखेर बिक्री वितरणको व्यवस्था मिलाएका छौं । हामीले बिक्री गर्ने कपडा अनलाइनबाट समेत खरिद गर्नसकिने छ । दुईवटा आउटलेटमा गरी अहिले २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं ।
० व्यवसायको चुनौती के छन् ? – बंगलादेशका कपडामा पहिला त्यति विश्वास थिएन । त्यतिबेला ग्राहकलाई विश्वास दिलाउन धेरै गाह्रो थियो । व्यवसाय चलाउन पनि रिस्क थियो । तर अहिले विस्तारै बंगलादेशमा निर्मित रेडमेड कपडाप्रति ग्राहकको आकर्षण बढ्न थालेको छ । त्यसैले विगतको तुलनामा धेरै सजिलो हुन थालेको छ ।
० अध्ययन र अनुभव के–के छन् ? – म्यानेजमेन्टमा स्नातकोत्तर । पाँच वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेकी छु ।
० पढेलेखाका महिला चुलोचौका र बेरोजगार भेटिन्छन् नि ? – त्यस्तो अवस्था छ, महिलाहरू आत्मनिर्भर हुन, आफ्नो योग्यता र क्षमता सदुपयोग गर्न घरको चुलाचौकाबाट बाहिर निस्कनै पर्छ । महिलाहरू आत्मनिर्भर भए महिला हिंसासमेत कम हुनेछ ।
० व्यवसायको क्षेत्रमा नेपाली महिलाको उपस्थिति कस्तो छ ? – विगतमा महिला व्यवसायीहरू औंला ले गन्ने अवस्थामा थिए । तर केही वर्षयता हरेक क्षेत्रमा नेपाली महिला व्यवसायीहरूको उपस्थिति उल्लेख्य देख्न सकिन्छ । आगामी दिनमा यो उपस्थिति अझै बढ्ने तथ्य तथ्यांकहरूले देखाएको छ ।
० व्यवसायमा लाग्ने महिलाहरूको अवस्था कस्तो देखिन्छ ? – देशकाल र परिस्थितिअनुसार हुने सबै किसिमका उतारचढावको सामना महिला व्यवसायीले पनि भोग्दै आएका छन् । व्यवसायमा आउने समस्या व्यवस्थापन गर्न नसक्ने महिला व्यवसायीहरू विस्थापित भएका देखिन्छ भने चुनौती र समस्या सामना गर्नेहरू टिकेर राम्रै प्रगति गरेको पनि देखिन्छ ।
० नेपाली महिलालाई व्यवसाय गर्न कत्तिको सजिलो छ ? – नेपालमा महिलालाई व्यवसाय गर्ने प्रोत्साहित नीति सरकारले ल्याउन सकेको छैन । पुरुषसरह नीति अवलम्बन गरेर व्यवसाय गर्नुपर्ने भएकाले केही समस्याहरू पक्कै पनि झेल्नुपरिरहेको छ ।
० नेपालमा महिलालाई व्यवसायी बन्ने वातावरण छ ? – अहिले महिलाहरूले चुनौती मालेर आफ्नै आँटले व्यवसाय सञ्चालन गर्नुपरिरहेको अवस्था छ । रोजगारीमा पनि चित्तबुझ्दो प्राथमिकतामा महिलाहरू पर्न सकिरहेका छैनन् । राज्यले महिलालाई आत्मनिर्भर बनाउने, व्यवसायी बनाएर देशको आर्थिक क्रियाकलाप बढाउने हो भने महिलाहरूलाई प्याकेजमै प्रोत्साहित कार्यक्रम ल्याउनुपर्छ ।
० व्यवसायमा परिवारको सहयोग छ ? – एकदमै राम्रो साथ सहयोग छ । उहाँहरूको सहयोग र आशीर्वादले म व्यवसायीमा स्थापित भइरहेकी छु । सुरुमा के हो, कसो हो भन्ने हुन्थ्यो । तर अहिले भने व्यवसायमा प्रोत्साहित गर्नुहुन्छ ।
० नेपाली महिलाको समग्र अवस्था थाहा छ ? – नेपालमा हरेक क्षेत्रमा महिलाहरूको उपस्थिति राम्रो छ । व्यवसाय गर्ने मात्रै होइन, नेतृत्वदायी भूमिकामा समेत महिलाहरूको उपस्थिति चित्तबुझ्दो छ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणादेखि मुलुककै राष्ट्रपतिसमेत महिला नै हुनुहुन्छ । जो–जो ठूला–ठूला संघसंस्थाको नेतृत्व तहमा रहेर जिम्मेवार निर्वाह गरिरहनुभएको छ । उहाँहरू सबै नेपाली महिलाहरूको गर्वको पात्र हुनुहुन्छ ।
० घरेलु हिंसाबारे के थाहा छ ? – पहिला मुलुकमा नारी हिंसा मात्रै हुन्थ्यो, तर अहिले नारीद्वारा पुरुष हिंसा पनि हुन थालेको छ । हिंसा कोही कसैबाट हुनुहुँदैन । यस्ता हिंसा निरुत्साहित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु-याउनु पर्छ ।
० सामाजिक क्षेत्रमा पनि योगदान छ ? – सामाजिक क्षेत्र मेरो रुचिको विषय हो । मैले आफूले देखेको र सकेको योगदान गर्दै आएकी छु । हरेक मान्छे ‘सोसियल’ हुनुपर्छ । र, सकेको सामाजिक काम गर्न सबैलाई अपिल पनि गर्दछु ।
० भविष्यका इच्छा र आकांक्षा ? – मैले सञ्चालन गर्दै आएको एफएनएफ फेसनलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्दै एउटा प्रतिष्ठित व्यावसायिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य मेरो रहेको छ । राम्रो काम गर्दै राज्य र समाजलाई योगदान पु-याउने उद्देश्य छ । महिला दिदीबहिनीहरूलाई हरेक क्षेत्रमा प्रोत्साहित गर्न आफ्नो ठाउँबाट सक्दो योगदान पु-याउने योजना छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया