नेपालको मौलिक सांस्कृतिक धार्मिक पर्ब म्ह:पुजा-आत्मामा विराजमान इश्वरको पुजा

शुक्रबार, कार्तिक ८, २०७६

'धौबजी'

नेपालको मौलिक सांस्कृतिक धार्मिक पर्ब म्ह:पुजा-आत्मामा विराजमान इश्वरको पुजा

नेपालीहरुको दोश्रो ठुलो चाड तिहार विभिन्न समुदाय ले आ आफ्नै किसिम ले बिशेष महत्वका साथ् मनाउछन। यो पर्ब दिदि भाई,दाजु बहिनि,फुल,दिप,अनि पशुपन्छी र मानबको सम्बन्धका साथै प्राकृतिक पक्षको  बिशेषता ले भरिपुर्ण छ।तिहार को पाँच दिन सुरक्षा,सुख,शान्ती समृद्धि र दीर्घजीवनका  लागि मनाईन्छ।

तिहारको अर्को मौलिक बिशेषता छ नेवार समुदाय ले गर्ने म्ह:पुजा।तिहार को चौथो दिन अर्थात कार्तिक शुक्ल प्रतिपदा नेवार समुदायको नयाँ बर्ष पनि यो दिन म्ह:पुजा गरिन्छ ।म्ह:पुजा नेपालको मौलिक सांस्कृतिक धार्मिक पर्ब हो।सम्पूर्ण नेवार समुदाय द्वारा मनाईने म्ह:पुजा नेपाली पर्ब मध्ये बिशेष पर्बको रुपमा रही आएको छ। आफ्नो शरीर लाई परमात्मा मानेर आफु ले आफुलाई आराधना गरि शरिर भित्र रहेको बिश्वास गर्दै परमेश्वर को बास शरिर भित्र हुने मान्यता राखी आफु लाई चिनेर बुझेर आफ्नो उद्दार गर्न आफै अघि सर्नु पर्ने परम्पराको रुपमा यो पर्ब बिकास भएको पाइन्छ।

म्ह:पुजा भनेको आफ्नो पुजा गर्नु हो।शास्त्र ले मानिसको आत्मालाई इश्वर मान्छ र आत्मा बोक्ने शरीर परमात्मा हो । भनिन्छ शरीरमा शान्ति नभए सम्म आत्माशान्ति नहुने भएको  ले म्ह:पुजाको दिन शरिर लाई तान्त्रिक बिधि बाट पुजा गरिन्छ ।यसो गर्दा बर्षभरि शरीरमा चोटपटक नलाग्ने र मन पनि शान्त हने  धार्मिक बिश्वास छ। यो पुजा देवता र पशुपक्षिलाई पनि गर्ने चलन छ।

किम्बदन्ती अनुसार परापूर्वकालमा नेवार समुदायमा ठुलो दैबी प्रकोप परेको थियो ।त्यस बाट धेरै मानिसको क्षति हुन् गएको ले त्यस पछी जीवित रहेको मानिस ले आत्मासुरक्षाको लागि शरीरको पुजा गर्ने परम्परा प्रचलनमा ल्याएको बिश्वास छ।

कसरि गरिन्छ म्ह:पुजा

यो पुजा गर्न सर्ब प्रथम घरको बुंनगल या कुनै ठाउँमा पूर्व वा पश्चिम फर्केर बस्ने गरि गरिन्छ ।सबै भन्दा माथी देवताको लागि मण्डला लेखिन्छ र बायाँ तिर परिवारका सबै सदस्यका लागि छुट्टाछुट्टै मण्डला लेखिन्छ। यस बाहेक पानी ले भरिएको गाग्री ,नांलो र कूचो को लागि पनि मण्डला बनाईन्छ। मण्डलामा खाने तेल को सानो घेरालाई बिचमा पारि त्यसपछी क्रमश बाहिर अक्षता,लावा,कालो भटमास मासको गेडा धान बेसार ले रंग्याईएको चामल को पिठो त्यस पछी पानी र रंगीबिरंगी फुल को घेरा हालिन्छ साथै बिभिन्न जात को फलफुल धुप जजन्का आगी सामाग्रीहरु ले मण्डल सजाइन्छ।

यसपछि परिवारका सबै सदस्यहरु आ आफ्नो मण्डलाको सामुन्ने पलेटी कसेर बस्छन र परिवारको सबै भन्दा जेष्ट महिला जसलाई नेवारी भाषामा नकीं भनिन्छ ले दाँया हात निकाली पछ्यौरी लगाउछीन,सुकुन्दा बाल्छिन अनि पुजाथाली र दहि उठाई सबैलाई ढोगाउछिन। त्यसपछि एउटा हातमा फुल लिई दहि निकालेर पुजाथालीमा चामल फुल र रातो टिका मुछेर सुर्यरुपी सुकुन्दा र गणेशको पुजा गरेर टिका र जजंका लगाइदिन्छिन। त्यसैगरि  कलश नान्ग्लो र कुचोको पनि पुजा गर्छिन अनि आफु ले टिका लगाएर लहरै सबै लाई टिका लगाई दिन्छिन। त्यसपछि सबै ले आ आफ्नो मण्डला आफै ले पुजा गर्छन अनि माथि तल अगाढी पछाडी आकाशमा पुजा गर्दछन ।कपडाको बती मण्डला माथि बालिन्छ,बालिएको दिप्तमान भई रहेको मण्डलको पुजा गरि नकीं ले भाग राखेको अक्षताले पुजा गरि सबै लाई दिन्छिन ।यसलाई सिसंग भनिन्छ ।सबै ले यसमा भएको जजंका फलफुल र फुल लगाउछन त्यसपछि सगुन दिने गरिन्छ ।

सबै ले एकै फेरी सगुन जुठो हाल्नु पर्दछ।सगुन दिने बेलामा साना ले ठुलो लाई ढोग्ने चलन छ।सगुन सकिए पछी दहि चाक्सी र केरा मिसाएर सबै लाई खान दिईन्छ जसलाई धैमु भनिन्छ अन्तमा नकीं ले लक्ष्मी भित्र पाल्नुस भनि माथि देखि तल सम्मको मण्डल सबै बढारेर म्ह:पुजा समापन गर्छिन।

यो पुजाको मुलभूत पक्ष भनेको स्वस्थ भएमा मात्र कर्म गर्न सकिन्छ शभक्तिबुद्धि प्रयोग गर्न सकिन्छ अनि सधै आनन्दपुर्बक हँसिलो भई रहन्छ भन्ने हो ।यो चलन बिश्वमा नेपालको नेवार समुदायमा मात्र छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::