सोलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

ट्रेन्डिङ

सोलुखुम्बु २७ साउन

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो । २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ ।

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छभने घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ । छ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चारजनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताए । आफूहरुलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा भ¥याङले तारमा छुँदा करेन्ट लागेको उनको भनाइ छ ।

यद्यपि घटनाको विवरण दिन सोलुखुम्बु प्रहरीले आनाकानी गरेको छ । सदरमुकाममा भएको उक्त घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक आफै खटिए पनि घाइते र मृतकको विवरण उपलब्ध गराउन प्रहरीले इन्कार गरेको छ । उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ ।रासस

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026