साउनमा देवघाट मेलामा एक लाख भक्तजनले गरे स्नान

ट्रेन्डिङ

तनहुँ ३० साउन

प्रसिद्ध धार्मिकस्थल देवघाटमा यस वर्षको साउन महिनामा एक लाख ३० हजार भक्तजनले स्नान गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या घटेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अन्तिम सोमबारको उपस्थितिले भक्तजनको आवागमनमा वृद्वि गराएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार अन्य सोमबारको तुलनामा अन्तिम सोमबार एकै दिन करिब ५० हजारको हाराहारीमा भक्तजनको आवागमन भएको थियो ।

हिन्दु धर्मप्रति आस्था राख्ने भक्तजनले साउनको महिनामा देवघाट आएर स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । शालिग्राम पाइने नदी भनेर देवघाटधामलाई चिनिन्छ । मुस्ताङबाट आएको काली र गोसाइँकुण्डबाट आएको त्रिशूली नदीको सङ्गमस्थल भएकाले देवघाटधामलाई धार्मिक गन्तव्यका रुपमा लिने गरिन्छ ।

नदीको बहाव र मौसमलाई दृष्टिगत गर्दै नदी किनारमा नजान सतर्कता अपनाएका कारण यस वर्ष भक्तजनको उपस्थितिमा कमी आएको हुनसक्ने अनुमान समितिको रहेको छ । तुलनात्मक रुपमा पाँच सोमबार परेको वर्ष भक्तजनको सङ्ख्या बढी हुने गरे पनि यस वर्ष चार मात्रै सोमबार परेकाले धार्मिक आस्थाप्रति बढी विश्वास गर्नेहरु कम आएको हुनसक्ने उनले बताए ।

उनका अनुसार चितवनसहित गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, धादिङ, बागलुङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुर, भारतलगायत स्थानबाट भक्तजन स्नानका लागि आएका थिए । “हरेक वर्ष मेलामा आउने भक्तजनको गुनासोलाई समितिले सम्बोधन गर्ने प्रयास गर्दै आएको छ”, बरालले भने, “सुरक्षामा बढी ध्यान दिनुपर्ने हुँदा सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिएको थियो ।”रासस

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026