साउदी अरेबियाद्वारा १२ हजार गैरकानुनी कामदारलाई देश निकाला

ट्रेन्डिङ

NA Media
साउदी अरेबियाले गैरकानुनी रूपमा बसेका विदेशीहरूविरुद्ध राष्ट्रव्यापी बन्दाबन्दीका बीचमा १२ हजार १ सय १ जना आप्रवासीलाई देश निकाला गरेको छ ।

साउदी गृह मन्त्रालयले जारी गरेको साप्ताहिक अपडेटनुसार राज्यको निवास, श्रम र सीमा सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा एक सातामा २२ हजार ७ सय १६ विदेशीलाई पक्राउ गरिएको थियो । सुरक्षा बल र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानमा पक्राउ परेकाहरूमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १४ हजार ४ सय ४६, सीमा सुरक्षा उल्लंघन गर्ने ४ हजार ७ सय ८० जना र श्रम कानुन उल्लंघन गर्ने ३ हजार ४ सय ९० जना रहेका छन् ।

सिमाना पार गरेर राज्यमा प्रवेश गर्न खोज्दा १ हजार ५ सय १३ जनालाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यस्तै, नियम कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र रोजगारी दिने १० जनालाई पनि पक्राउ गरिएको छ ।

कुल ६ हजार ७ सय ६५ उल्लंघनकारीलाई यात्रा कागजात लिनका लागि आफ्नो कूटनीतिक नियोगमा पठाइएको छ । २ हजार २ सय ३२ उल्लंघनकारीलाई यात्रा रिजर्भेसन पूरा गर्न पठाइएको र १२ हजार १ सय १ उल्लंघनकारीलाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ ।

साउदीमा कानुन उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । साउदी सरकारले कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026