वीरगञ्ज ११ साउन
प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ ।
आव २०७९–८० को तुलनामा आव २०८०–८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो । सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ । सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताए । “वीरगञ्ज भन्सार कार्यालय हुँदै आयात हुने धान, चामलको परिमाण ठूलोमात्रामा घटिरहेको छ”, उनले भने, “धान, चामलको आयात मात्रै होइन । राजस्व सङ्कलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।” वीरगञ्ज भन्सार कार्यालय हुँदै आव २०७९–८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको छ । सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलोग्राम धान आयात गरिएको थियो । सो धान आयात हुँदा सरकारले राजस्ववापत ६७ करोड ३४ लाख ६३ हजार सङ्कलन गरेको थियो ।रासस