जसरी पनि यो सरकारलाई सफल बनाउनुपर्छ : प्रधानमन्त्री ओली

ट्रेन्डिङ

काठमाडौँ १५ साउन 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए ।

“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।”

उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन । हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ । यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।”

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकदिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने बताए । “त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारी ढुक्कले काम गर्नुस्, त्यसको जिम्मेवारी सरकारले लिनेछ,” प्रधानमन्त्री ओलीले भने । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतामा प्रभावकारी सेवा प्रवाह गर्न, भोकमरी, र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध ढङ्गले काम गर्न निर्देशन दिए । रासस

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026