भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’

ट्रेन्डिङ

चितवन २९ साउन 

भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो । उनका अनुसार छवटा कम्पनीको बोलपत्र परेको छ ।

महानगरपालिकाले १० करोड ८३ लाख बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामेरा जडान गर्न लागिएको बताइन् । उनले भनिन्, “महानगरका सबै वडामा सिसी क्यामेरा जडान गर्दैछौँ ।” ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।

एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ । नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो ।

बोलपत्रको टुङ्गो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ । उनले भनिन्, “ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामेराको पहुँच पुग्नेछ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाबेष रिमालले महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताए। शान्तिसुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्ने छ । उनले भने, “कम जनशक्तिमा काम गर्नुपर्दा सिसी क्यामेरा निकै सहयोगी बन्ने छ ।” रासस

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025