इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकाे विजयी सुरुवात

ट्रेन्डिङ

काठमाडौँ ३ भाद्र

गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा चेल्सीलाई हराएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २-० को सहज जित दर्ता गरेको हो । सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १-१ गोल गरे ।

सिटीका लागि सयौं खेल खेलिरहेका हालान्डले १८ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । सन् २०२२ मा सिटीमा आबद्ध भएका उनले ९१ औं गोल गर्ने क्रममा गोलरक्षक रोबर्ट सान्चेजलाई वन भर्सेस वनको अवस्थामा बिट गरेका थिए । पेनाल्टी क्षेत्रभित्र बर्नार्डो सिल्भाको पास डिफेन्डर मार्क कुकुरेलाले रोक्न नसक्दा हालान्डले गोलको अवसर पाएका थिए ।

खेलको ८४ औं मिनेटमा कोभाचिचले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । चेल्सीका लागि भने नयाँ सिजनको सुरुवात सुखद रहन सकेन ।

चेल्सीले नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गर्ने क्रममा १ सय ८५ मिलियन पाउण्ड खर्च गरिसकेको छ । क्लबमा ४० सिनियर खेलाडी रहँदा अब अन्तिम २५ टोलीमा को रहन्छन् भन्ने चासोको साथ हेरिएको छ ।

सिटीले जितका साथ ३ अंक जोडेको छ । आइतबार नै ब्रेन्टफर्डले नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको थियो ।

सोमबार हुने खेलमा टोटेनहम ह्ट्सपर र लेस्टर सिटी खेल्नेछन् ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026