टिकटकमाथि लागेको प्रतिबन्ध फुकुवा

ट्रेन्डिङ

काठमाडौं ६ भदौ

नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । साथै टिकटकलाई तीन महिनाभित्र नेपाल सरकारले तोकेका मापदण्ड र प्रक्रिया पूरा गर्न निर्देशन दिइएको पनि उनले जनाए ।

सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २७ कात्तिक २०८० को मन्त्रिपरिषद्‌ बैठकमार्फत नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

 

तर कानुनी आधार नै नलिई अन्य देशको स्वार्थ अनुकूल हुने गरी हचुवाको भरमा टिकटकमाथि प्रतिबन्ध लगाइएको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ । टिकटक प्रतिबन्ध संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक विपरीत भएको दाबी गर्दै विभिन्न सरोकारवालाले सरकारी कदमको आलोचना गरेका थिए ।

यस सम्बन्धमा सर्वोच्च अदालतमा छुट्‍टाछुट्‍टै १४ ओटा रिटसमेत दायर भएका थिए । यी रिटमा छलफलका लागि सर्वोच्चले आगामी असोज १० मा नयाँ पेशी तोकेको छ ।

यता, टिकटक प्रतिबन्धका कारण नेपालले आर्थिक रूपमा ठूलो नोक्सानी ब्यहोर्नु परेको तथ्य बाहिरिएको छ । क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा गत नौ महिनामा नेपाललाई दुई अर्ब घाटा लागेको छ भने टेलिकम तथा इन्टरनेट कम्पनीहरूले करिब पाँच अर्बको आम्दानी गुमाएका छन् ।

प्रतिबन्ध फुकुवा गरिदिन टिकटकले नेपाल सरकारका विभिन्न निकायलाई बारम्बार पत्राचार गरेको थियो । केही दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै टिकटकले नेपाल सरकारले व्यवस्था गरेका नीति नियम पालना गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025