मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण

ट्रेन्डिङ

जनकपुर ९ भदौ 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् ।

उनले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, प्रसूति गृह, अति सघन कक्षलगायत निरीक्षण गरी ‘ड्युटी’मा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधिबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक र उचित औषधि राख्न, सूचीअनुसार औषधि अभाव हुन नदिन सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । उनले निरीक्षणका क्रममा बिरामी र तिनका कुरुवासँग अस्पतालका सेवा सुविधाबारे जानकारी लिएका थिए ।

रातका समयमा जनशक्ति अभाव, उपयुक्त रेखदेखमा कमी र अस्पतालभित्रका फार्मेसीमा औषधि अभावबारे केही कुरुवाले गुनासो गरेपछि मुख्यमन्त्री सिंहले त्यहाँ आइपुगेका प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादवलाई समस्या समाधान गर्न निर्देशन दिए ।

उनले अस्पतालमा बिरामीको चाप अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गर्दै अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविधिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।रासस

 

थप समाचार

उच्च रक्तचाप भएका लागि ‘डाइट चार्ट’ : कस्तो खानपान गर्ने ?

October 20, 2024

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

October 20, 2024

रबि लामिछाने लाई पक्राउ गर्न अदालत को पक्राउ पुर्जी,सङठित अपराधमा समेत जोडियो

October 18, 2024