भारतमा मृत्यु भएका मजदुरको परिवारलाई माडी नगरपालिकाद्वारा आर्थिक सहयोग

ट्रेन्डिङ

चितवन  १२ भदौ

भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

शव ल्याउन पहल गरेको नगरपालिकाले किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार तत्काल उपलब्ध गराइने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए । उनले भने, “तत्कालका लागि रु २५ हजार किरिया खर्च सहयोग गरेका छौँ, अन्य आवश्यक सहयोग कार्यपालिकाको बैठकपछि निर्णय गरेर गर्नेछौँ ।” उनले सबै परिवारको अवस्था नाजुक रहेको जनाउँदै उनीहरूले काम गरेको कम्पनीबाट समेत राहत दिलाउन पहल गरिरहेको बताए ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गत बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो खसेको जनाइएको छ । पहिरोमा परेर माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोमा पुरिएर घटनास्थलमा मृत्यु भएको हो ।

उनीहरूको शव शनिबार राति ल्याइएको थियो । पेट्रोलपम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।रासस

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026