साफ यू–२० च्याम्पियनपशिप फूटबलको उपाधि बंगलादेशलाई

ट्रेन्डिङ

काठमाडौँ १२ भदौ

बंगलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फूटबल महासंघ) यू–२० च्याम्पियनपशिप फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बंगलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) को मुख्यालयको खेलमैदानमा बुधबार भएको फाइनल खेलमा बंगलादेशले नेपालमाथि ४–१ गोलको जीत निकाल्दै उपाधिमाथि कब्जा जमाएको छ ।

यसअघि २ पटक फाइनलमा पुगेको बंगलादेश दुवै पटक पराजित हुँदै उपविजेता बनेको थियो । सन् २०१९ र सन् २०२२ मा भएको साफ च्याम्पियनशिपमा बंगलादेश फाइनलमा पुगेको थियो । त्यतिबेला दुवै पटक भारतसँग पराजित हुँदै बंगलादेश उपविजेतामा सीमित बनेको थियो ।

बंगलादेशको जीतका लागि बुधबारको खेलमा मिराजुल स्लामले २ गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान १–१ गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औं मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ७१औं मिनेटमा बंगलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए ।

खेलको ८१औं मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बंगलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे ।

बंगलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा १ गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बंगलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जीत हासिल गर्‍यो । हारसँगै साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।

नेपालबाटै सन् २०१५ मा साफ यू–१९ च्याम्पियनशिपका नामबाट सुरुआत भएको च्याम्पियनशिपको उपाधि सुरुआतमा नेपालले जितेको थियो । च्याम्पियनशिपको फाइनल खेलमा नेपालले भारतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकोे थियो । च्याम्पियनशिप यसअघि कहिले साफ यू–१८ र कहिले साफ यू–२० को नामबाट सञ्चालन हुँदै आएको छ ।

 

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025