गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

ट्रेन्डिङ

चितवन १६ भदौ

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।

निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएका हुन् । फाउण्डेसनले उहाँहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।

प्रमुख संरक्षण अधिकृत पुनले भने, “गत आवमा संरक्षणका क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौँ । एक वर्षमा ३४ जना चोरी सिकारीमा संलग्न भई फरार अभियुक्त पक्राउ गरिएको यो पहिलो उपलब्धि हो । यसै गरी खगेन्द्र मल्लीभित्रको सत्तरचुली क्षेत्रमा दुईवटा गैँडा खाल्डामा पुरेर चोरी सिकार गरिएका अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सकेका थियौँ ।” उनका अनुसार सालकको चोरी सिकारी गर्ने छजनालाई पक्राउ गरिएको छ ।

प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताए । संयुक्त प्रयासका कारण निकुञ्जले ठूलो पुरस्कार पाउन सफल भएको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैंडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ । यससँगै अन्य वन्यजन्तुको संरक्षण र मध्यवर्तीका बासिन्दासँगको सम्बन्ध सुमधुर बनाएर वन र वन्यजन्तु संरक्षणमा आँफूहरु लागि परेको पुनले जानकारी दिए ।

“यो निकुञ्जमा घडियाल प्रजनन केन्द्र पनि छ । राप्ती र नारायणी नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर यहाँ बच्चा कोरल्ने गरिन्छ । ती बच्चालाई हुर्काएर नदीमा छोड्ने गरिन्छ”, प्रमुख संरक्षण अधिकृत पुनले भने, “पर्या–पर्यटनका हिसाबले यो निकुञ्जलाई मुलुकको महत्वपूर्ण निकुञ्जका रुपमा लिने गरिन्छ । नेपाल आउने पर्यटकको सफारीको महत्वपूर्ण गन्तव्यका रुपमा यो निकुञ्ज छ ।”रासस

 

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025