भरतपुरका एक व्यक्तिले श्रीमतीसँग पारपाचुके गर्न उनकाे चरित्र हत्या गर्ने प्रयास गरेका छन् । चितवनको भरतपुर २, आँपटारी घर भएका शिवहरि सिलवालले श्रीमती अष्ट्रेलियामा रहँदा साथीहरूसँग घुम्न जाँदा खिचेको फोटो प्रिन्ट गरेर बुकलेट बनाई टोल-छिमेकमा बाँडेका हुन् ।
चितवनमा स्थायी बसोबास र यहाँकै एक अस्पतालमा काम गर्ने भए पनि सिलवालले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ मा अस्थायी बसोबास गरेको वडाबाट सिफारिस बनाएका छन् । त्यही कागज राखेर उनले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् ।
नेपालमा विद्यमान कानूनले श्रीमतीलाई अंश नदिई सम्बन्ध विच्छेदको लागि उनको चरित्र पतनकाे प्रमाण पेश गर्नुपर्नेलगायत व्यवस्था छ । गत जेठमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका सिलवालले श्रीमती र अर्को पुरुषको फोटो प्रिन्ट गरेर टोल, छिमेक, आमा समूह, चोकमा रहेको किराना पसलमा बाँडेका थिए । श्रीमानको उक्त कार्यपछि श्रीमतीले आफ्नो चरित्र हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।
उनको निवेदनपछि विद्युतीय कारोबार ऐन २०६३ विरुद्धको कसुर गरेको भनी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । १५ दिनपछि जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले शिवहरीलाई आइतबार एक लाख रूपैयाँ धरौटीमा छोडेको छ । अदालतको आदेशमा इमेलमार्फत आफूले नराम्रो म्यासेज पठाएको तर, चरित्रहत्या नगरेको भनी शिवले बयानमा दाबी गरेको उल्लेख गरिएको छ ।
शिव चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका चार्टर्ड अकाउन्टेन्ट हुन् । उनले आफ्नो पहुँचकाे प्रयोग गरी बस्दै नबसेको काठमाडौंबाट सिफारिस लिएर आफू घरमै रहँदा सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेको श्रीमतीको दाबी छ ।