दक्ष जनशक्ति बिदेशियाे, लोकसेवा आयोगले पटक पटक विज्ञापन खोल्दा पनि माग अनुसार आवेदन नपरेपछि दुई दर्जन सेवा अवरुद्ध हुने अवस्था

ट्रेन्डिङ

NA Media

मुलुकमा एकातिर बेरोजगारीको संख्या बढ्दैछ र युवाहरु रोजगारीको खोजीमा बिदेश पलायन भइरहेका छन् । अर्काेतर्फ दक्ष जनशक्तिको चरम अभाव सृजना हुँदै गइरहेको छ ।

सरकारी कर्मचारी नियुक्तिको जिम्मेवारी पाएको लोक सेवा आयोगले पटक पटक नियुक्ति प्रयास गरे पनि आवेदन नै नपरेपछि इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रका कतिपय सेवाहरु अवरुद्ध हुने अवस्था सृजना भएको छ ।

लोक सेवा आयोगले गत आर्थिक वर्ष २०८०-८१ मा निजामती सेवातर्फ कुल ३ हजार ६ सय ६० रिक्त पद परिपूर्तिका लागि जम्मा १ हजार ४५५ वटा विज्ञापन गरेको थियो । त्यसमा बढुवाबाट ५२६, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट १२१, खुला परीक्षाबाट २६६ र विभिन्न समावेशी समूहबाट ५४२ गरी गरेको थियो । त्यसमध्ये विभिन्न २४ वटा विज्ञापनमा भने एउटा पनि आवेदन परेन ।

माग गरिएका विज्ञापनमध्ये २४ वटाबाट ३१ जना पदस्थापना हुनुपर्थ्यो । तर, कसैले आवेदन नदिँदा ती पदहरूमा पदस्थापना हुन सकेको छैन । आयोगका अनुसार २४ वटा विज्ञापनमध्ये खुला १, आदिवासी जनजाति १, दलित १ रहेका छन् भने २१ वटा विज्ञापन आन्तरिक छन् । त्यसमध्ये १० वटा इन्जिनियरिङ सेवाका र १४ वटा स्वास्थ्य सेवाका छन् ।

आयोग स्रोतका अनुसार यी पदहरू अमिन वा सोसरह पदका राजपत्र अनकिंत द्वितीय तह, नेपाल इन्जिनियरिङ सर्भे सेवा समूहका छ वटा, नेपाल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र निर्माण उपकरण सम्भार गरी तीन जनाको दर्खास्त माग गरिएकोमा कसैको पनि आवेदन परेन । ती पदहरूमा तालिम लिएको सर्त थियो । तालिम लिएका कर्मचारी नहुँदा आन्तरिक प्रतिस्पर्धामा समेत कसैको योग्यता पुगेन ।

त्यस्तै माइनिङ इन्जिनियरिङ र मेटालर्जिकल इन्जिनियरिङमा उपसचिव वा सो सरहको श्रेणीको आवेदन खुलाएको थियो । तर, दुवै पदको लागि एउटा पनि आवेदन परेन । आयोगका सूचना अधिकारी एकनारायण शर्माका अनुसार यी दुवै विषय पढेकाहरुको माग विश्वव्यापीरुपमा छ । तर नेपालमा भने महत्वहीन जस्तै मानिन्छ । त्यसैले यो कोर्स पढ्नेहरुको संख्या निकै छ । जतिले पढेका छन्, उनीहरु तुलनात्मकरुपमा निकै राम्रो सेवा सुविधासहित विदेश पलायन भइरहेका छन् ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा जनशक्तिको हाहाकार छ । नेफ्रोलोजी सेवा अन्तर्गत प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट ११औँ तहका कर्मचारी आयोगले २ जना माग गरेर विज्ञापन खुलाएको थियो तर एउटा पनि आवेदन परेन । ११औँ तहकै प्रमुख कन्सल्टेन्ट अप्थल्मोलोजिस्ट, नवौँ तहका मेडिसिन नेफ्रोलोजी सेवाको सन्सल्टेन्ट नेफ्रोलोजिस्ट, मेडिसिन न्युरोलोजी सेवाको कन्सल्टेन्ट न्युरोलोजिस्ट, कार्डियोलोजी सेवाको कन्सल्टेन्ट कार्डियोलोजिस्ट सेवाको लागि एउटा पनि आवेदन परेन । त्यस्तै ट्रपिकल मेडिसिन सेवाको ट्रपिकल मेडिसिन, चेस्ट डिजिजेज समूहको चेस्ट डिजिज, मेडिकल अंकोलोजी सेवाको मेडिकल अंकोलोजिस्ट, फरेन्सिक समूहको फरेन्सिक मेडिकल अधिकृत, कार्डियोथोरासिक सर्जरी समूहको कार्डियोथोरासिक सर्जन, बर्न प्लास्टिक सर्जरी समूहको प्लास्टिक सर्जन, किड्नी ट्रान्सप्लान्ट सर्जरी समूहको किड्नी ट्रान्सप्लान्ट सर्जन, पेडियाट्रिक्स निओनेटोलोजी समूहको निओनेटोलोजिस्ट र जनरल ल्याब टेक्नोलोजिस्ट पदमा पनि एउटै आवेदन परेन ।

गत वर्ष आवेदन नपरेका पदहरुको पूर्तिको लागि आयोगले यस पटक पनि आवेदन माग गर्ने तयारी गरेको छ । तर यसपटक पनि ती पदहरुमा नियुक्तिको लागि आवेदन पर्छन भन्ने कुनै निश्चित भने छैन ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026