पहिलो त्रैमास मा आन्तरिक ऋण को लक्ष्य पुरा,थेगिदै सरकार

ट्रेन्डिङ

NA Media

सरकारले चालु आवको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्म आन्तरिक ऋणको लक्ष्य पूरा गरेको छ । सरकारले यसअवधिमा लक्ष्य अनुसार नै १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाएको छ । सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाएको हो ।

आन्तरिक ऋण संकलनका लागि सरकारले अल्पकालीन (एक वर्षभन्दा कम अवधिका), मध्यमकालीन (एकदेखि पाँच वर्षसम्मका) र दीर्घकालीन पाँच वर्षभन्दा बढी अवधिका विभिन्न उपकरणहरु जारी गर्छ । यस अवधिमा सरकारले ट्रेजरी बिल्स मार्फत ३५ अर्ब तथा विकास ऋणपत्र मार्फत ८० अर्ब आन्तरिक ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएपछि अर्थात साउनदेखि असोजसम्म सरकारले ५ अर्बका दरले ७ पटक ट्रेजरी बिल्सको बिक्री गरेको छ । यसअवधिमा सरकारले २८ दिनेदेखि ३६४ दिने अवधिका ट्रेजरी बिल्सको बिक्री गरेको छ । त्यस्तै १० अर्बका दरले ८ पटक विभिन्न अवधिका विकास ऋणपत्रहरु जारी गरेको छ । यसअवधिमा ११ वर्षे, ९ वर्षे, ६ वर्षे, ५ वर्षे र ३ वर्षे विकास ऋणपत्र बिक्री भएका छन्।

चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। कार्यालयको तालिका अनुसार दोस्रो त्रैमासमा ६६ अर्ब ५० करोड, तेस्रोमा ७३ अर्ब र चौथो त्रैमासमा ७५ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने सरकारको योजना छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ छुट्याइएको छ ।

चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड बेहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने सरकारको अनुमान छ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गर्ने सरकारको लक्ष्य छ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025