शुद्धोधन १ उपनिर्वाचन हुदै दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

ट्रेन्डिङ

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । यही मङ्सिर १६ गते हुने वडाध्यक्षको निर्वाचनमा ३ स्थानमा ६ वटा मतदान केन्द्रमा ३० कर्मचारी परिचालन गरिने सहायक निर्वाचन अधिकृत अमरबहादुर ओलीले बताउनुभयो ।

प्रत्येक निर्वाचन केन्द्रमा पाँच जना कर्मचारी र एक जना स्वयंसेवक खटिने उहाँको भनाइ छ । उहाँका अनुसार मतदान अधिकृत ६ जना, मतदान केन्द्र अधिकृत ६ जना, सहायक मतदान अधिकृत १२ र कार्यालय सहयोगी ६ जना खटिने छन् ।

सहायक मतदान अधिकृत र मतदान अधिकृतलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक तालिम समेत दिइएको छ । सहायक प्रजिअ परमानन्द घिमिरे र जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले तालिमको सहजीकरण गर्नुभएको थियो । कर्मचारीहरू आजैसम्म मतदान केन्द्र पुगी सक्ने जिल्ला निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

उपनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । उहाँले मतदान केन्द्रको पहिलो घेरामा नेपाली सेना, दोस्रो र तेस्रो घेरामा नेपाल र सशस्त्र प्रहरीको टोली परिचालन हुने बताउनुभयो ।

नेपाल प्रहरीका एक सय ६४, सशस्त्र प्रहरी २९ जना, नेपाली सेना आवश्यकता अनुसार र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू समेत परिचालन हुनेछ । निर्वाचनमा मोबाइल टोली समेत खटिने छ । निर्वाचनको दिन मङ्सिर १६ गते वडामा मतदान केन्द्रमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार र अनुमति लिएका सवारी साधन बाहेक अरुलाई प्रवेश निषेध गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।

निर्वाचनमा १० दल र चार स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् । मङ्सिर १३ गते राति १२ बजे पछि मौन अवधि सुरु हुने भएकाले प्रचार प्रसारमा तीव्र रूपमा लागेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका दिनेश कुमार यादव, नेकपा (एमाले)को मोहम्मद ताहिर मुसलमान र जनतम पार्टीका सिताराम पटेल कुर्मीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ । यस पटकको निर्वाचनमा रास्वपाका अवधेश कुमार चौधरी समेत उम्मेदवार बन्नुभएको छ ।

उक्त वडामा कुल चार हजार ८६८ मतदाता छन् । कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदका लागि निर्वाचन हुन लागेको छ । गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एक हजार ३२, एमालेका अब्दुल मोजिब खाले आठ सय ८९ र जनमतका सिताराम पटेल कुर्मीले पाँच सय ४७ मत ल्याएका थिए ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025